नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने स्पष्ट पारेको छ । भारत-पाकिस्तान द्वन्द्व चर्किरहँदा परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको तनावले नेपाल सरकार चिन्तित रहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले दुखद घटनामा नेपाल र भारत एकठाउँमा उभिएको र त्यस आततायी आक्रमणको तत्कालै आलोचना गरेको पनि जनाएको छ । नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने स्पष्ट पारेको छ ।
‘यस सन्दर्भमा स्मरणीय छ कि नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरुपमा भर्त्सना गरेको थियो, जुन आतंकवादका सबै प्रकारको विरोधमा नेपालको दृढ अडानसँग मेल खान्छ। नेपाल आतंकविरुद्धको लडाइँमा सबैसँगै उभिएको छ । आफ्नो सिद्धान्तमा आधारित अडानअनुसार नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुस्मन शक्ति वा तत्वलाई आफ्नो भूमिको प्रयोग गर्न दिनेछैन,’ विज्ञप्तिमा भनिएको छ । नेपालले दुई देशबीचको द्वन्द्व कम हुने र चाँडै शान्ति स्थापना हुने आशा पनि व्यक्त गरेको छ ।
कश्मिरको पहलगाममा २२ अप्रिलमा भएको घटनामा १ जना नेपालीसहित २६ जना पर्यटक मारिएका थिए ।
विज्ञप्ति :