मुख्य प्रशिक्षक स्टुअर्टलाई क्यानले आज सार्वजनिक गर्ने

Yangle News
Yangle News
२०८२ बैशाख १३ गते
मुख्य प्रशिक्षक स्टुअर्टलाई क्यानले आज सार्वजनिक गर्ने

नेपाली क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरे । क्यानले ५६ वर्षीय स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनी आगामी दुई वर्ष नेपाली टोलीसँग रहनेछन् ।

गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै स्टुअर्ट आएका हुन् ।

क्यानले मुख्य प्रशिक्षक स्टुअर्टलाई शनिबार सार्वजनिक गर्ने भएको छ । यसअघि, क्यानले सामाजिक सञ्जालमार्फत अस्ट्रेलियाका पूर्वक्रिकेटरलाई नेपाली टिमको प्रशिक्षण जिम्मेवारी सुम्पिएको जनाएको थियो ।

अस्ट्रेलियाका पूर्वब्याटर लले ५४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यसक्रममा उनले एक शतक र सात अर्धशतकसहित एक हजार २३७ रन बनाएका छन् । यस्तै, उनले एक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा अविजित ५४ रन बनाएका थिए । उनले यसअघि श्रीलंका, बंगलादेश, वेस्टइन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्यप्रशिक्षण सम्हालेका थिए ।