तोकिएको समयमै निर्वाचन गर्न संयमित भएर सहकार्य गरौं : राष्ट्रपति पौडेल

Yangle News
Yangle News
२०८२ अशोज १३ गते
तोकिएको समयमै निर्वाचन गर्न संयमित भएर सहकार्य गरौं : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन् ।

‘मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवं मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गर्नुपर्छ,’ उनले भनेका छन् । बडादसैंको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘दसैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ । दसैंलाई असत्यमाथि सत्यको विजयको पर्वको रूपमा पनि लिइन्छ । यस पर्वले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास मैले लिएको छु ।’

सन्देशमा उनले बडादसैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्व बढाएको छ । यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा मजबुद् बनाउँदै मुलुकमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको देखिन्छ भनिएको छ ।

उनले सन्देशमा वर्तमान राजनीतिक परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना पनि गरेका छन् ।