सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए ।
मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार ४१२ पर्यटक नेपाल आएका छन् । गत वर्षकाे मार्चमा ३० हजार ६ सय ९८ भारतीय पर्यटक नेपाल भित्रिएका थिए ।
भारत र युराेपेली देशका पर्यटक घट्दा अमेरिका र मध्यपूर्वका पर्यटक भने बढेका छन् । गत मार्चमा अमेरिकी देशहरूबाट १३ हजार चार सय ५७ पर्यटक नेपाल घुम्न आएकामा यस वर्षको मार्चमा १३ हजार नौ सय सात पर्यटक आएका छन् । संयुक्त राज्य अमेरिकाबाट मात्रै ११ हजार ९२ पर्यटक भित्रिएका छन् ।
यस्तै यस अवधिमा चीनबाट ११ हजार ४४३, श्रीलंकाबाट ८ हजार आठ सय ८६, युकेबाट पाँच हजार नौ सय ९५ पर्यटक, थाइल्यान्डबाट चार हजार नौ सय ८६, जर्मनीबाट चार हजार सात सय नौ, अस्ट्रेलियाबाट चार हजार दुई सय २८, म्यानमारबाट तीन हजार सात सय ५४, बंगलादेशबाट तीन हजार पाँच सय ७६ पर्यटक नेपाल घुम्न आएका छन् ।
बोर्डका अनुसार यस वर्षको पहिलो तीन महिनामा कुल दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका छन्। २०२४ काे ३ महिनामा ३ लाख ४ हजार ६९३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
अघिल्लो वर्ष मार्च २०२४ मा एक लाख २८ हजार एक सय ६७ पर्यटक घुम्न आएका थिए । यस वर्ष विशेष गरी भारतीय र युरोपेली देशका पर्यटकहरू घटेका छन् ।