एसईईको तयारी अन्तिम चरणमा, कति छन् परीक्षार्थी ?

Yangle News
Yangle News
२०८१ फाल्गुन २५ गते
एसईईको तयारी अन्तिम चरणमा, कति छन् परीक्षार्थी ?

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ देखि सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १०, सानोठिमीले एसईईको तालिका सार्वजनिक गरिसकेको हो ।

बोर्डले परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुने निर्धारण गरेको छ । परीक्षा चैत १९ मा सम्पन्न हुने जनइएको छ । साथै नियमित तथा ग्रेडवृद्धि दुवै समूहतर्फको परीक्षा उल्लिखित तालिकाअनुसार नै हुने पनि बोर्डले जनाएको छ । चैत ८ गते शनिबार र ११ गते सोमबार भने कुनै पनि परीक्षा सञ्चालन नहुने भएको छ । कुनै आकस्मिक विदा पर्न गएमा पनि बोर्डको पूर्वसूचनाबिना परीक्षा स्थगित नहुने जनाइएको छ ।

यस वर्ष एसईईमा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । कार्यालयका अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८-०७९) ले फारम भरेका छन् । निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ ।

प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै

विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम करिब सकिएको छ । निमित्त परीक्षा नियन्त्रक ज्ञवालीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइ गरिएको हो । प्रदेश-प्रदेशमा कार्यशाला गरेर ल्याइएको प्रश्नलाई छनोट गरेर प्रश्नपत्र बनाइएको हो । केन्द्रले प्रश्नपत्र मात्र छपाइ गर्ने र बाँकी व्यवस्थापनको काम प्रदेश र जिल्लाले गर्नेछ ।

परीक्षा जिल्लास्थित परीक्षा समन्वय समितिले गर्ने कार्यालयले जनाएको छ । समन्वय समितको अध्यक्ष प्रमुख जिल्ला अधिकारी, सदस्य सचिवमा जिल्ला शिक्षा इकाइका प्रमुख र सदस्यमा सुरक्षा निकायका प्रमुख रहने व्यवस्था छ । परीक्षा कार्यालयका अनुसार जिल्लामा प्रश्नप्रत्र पुर्‍याउने कामसमेत केहीमात्र बाँकी छ ।

उत्तरपुस्तिका भने सम्बन्धित प्रदेशले नै छपाइ गरेर परीक्षा केन्द्रमा पठाउने छ । उत्तरपुस्तिका र परीक्षा केन्द्रको खर्चको व्यवस्थापन प्रदेशले गर्ने निमित्त परीक्षा नियन्त्रक ज्ञवालीले बताए । परीक्षा केन्द्रको सुरक्षाको व्यवस्था गृहमार्फत जिल्लास्थित सुरक्षा निकायबाट हुनेछ ।

जापानबाट पनि एसईई

कार्यालयका अनुसार यसपटक पनि जापानबाट ३७ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । परीक्षा जापानमा भए पनि उत्तरपुस्तिका परीक्षण गर्न नेपालमै ल्याइनेछ । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरुले परीक्षा दिन लागेका हुन् ।

परीक्षा तालिका :

Yangle News