ताप्लेजुङस्थित पाथीभरा मन्दिर जाने केबलकार बनाउने र नबनाउने सम्बन्धी विवादले तनावकोस्थिति सृजना गरेपछि ताप्लेजुङ प्रशासनले सदरमुकाम फुङ्लिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी निषेधाज्ञामा बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस, घेराउ गर्न नपाउने गरी उल्लेख छ ।
सदरमुकामको पूर्वतर्फ फुङ्लिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा फुङ्लिङ नगरपालिका ७ घोडेचौर काफ्लेपाटी, उत्तरमा फुङ्लिङ नगरपालिका–४ उकालीपानी र दक्षिणमा फुङ्लिङ नगरपालिका ६ शेर्पाटोल, भेटनरी कञ्चनजंघा टोल क्षेत्र रहेको छ ।
यस्तै काफ्लेपाटी पूर्वतर्फ पर्यटन प्रहरी कार्यालयको एक सय मिटर क्षेत्र, पश्चिममा डढेले इलाका, उत्तरमा केबलकार शव स्टेशन, पानीको मुहान इलाकाको एक सय मिटर र दक्षिणमा नयाँ बसपार्क इलाकाको एक सय मिटर जङ्गल क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ ।
शनिबार बेलुका सदरमुकाम फुङ्लिङमा प्रहरी र आन्दोलनकारीबीच पटकपटक झडप भएको थियो । त्यसक्रममा आन्दोलनकारीतर्फ घाइते भएका तीन जनाको धरानको घोपा र ९ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको बताइएको छ ।
निर्माणाधीन केबलकारको विरोध गर्दै आएको समूह काफ्लेपार्टी क्षेत्रबाट हिजो दिउँसो पदयात्रा गर्दै र गाडीमा सदरमुकाम पुगेका थिए । सदरमुकाममा उनीहरूले नारा जुलुस गर्नुका साथै राँके जुलुस गरे । प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरीलाई लखेटेको र आगोको लप्काहरू स्थानीयको घरमा फालेका थिए । झडपमा घाइते भएका ९ जना प्रहरीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसपछि प्रहरीको धरपकडमा ठूलो संख्यामा आन्दोलनकारी घाइते भएका छन् भने एक दर्जन बढी पक्राउ परेका छन् ।