सुनकोशी नदीको सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिजमा आजदेखि यातायातका साधन चल्ने भएका छन् । सुनकोशी नदीको पुल गत असोज ११ र १२ गते परेको अविरल वर्षापछिको बाढीले बगाएपछि नेपाली सेनाले हिजो बेलिब्रिज जडान गर्ने काम सकेको थियो । दुई साताभित्रै बेलिब्रिज हाल्ने काम सकिएकाले पुलबाट सार्वजनिक सवारी साधन सञ्चालनमा आएको हो । निर्माण सकिएकाले आजबाटै सुनकोशीको पुलबाट गाडी चल्ने ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले जानकारी दिनुभयो । बाढीले सुनकोशी नदीको पुल रामेछापतर्फ ५१ मिटर बगेपछि बेलिब्रिज राखिएको हो ।
भारवहन क्षमता जाँच सफलता पूर्वक सम्पन्न भएपछि बेलिब्रिजबाट यातायात सञ्चालन गर्न लागिएको हो । बाढीले सुनकोशीको पुल बगाउँदा रामेछाप आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै र सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नु परेको थियो । बेलिब्रिज पुल एकतर्फी सञ्चालन हुनेछ । सिन्धुलीको गोलन्जोर गाउँपालिका – ७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका – ६ को बेतिनी जोड्ने करिब १८ करोडको लागतमा १० वर्षअघि बनेको सुनकोशीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो ।
रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि सुनकोसी नदीको पुलले सहज पार्दै आएको छ ।