पहिरोमा पुरिएर कास्कीका एकै घरका ७ जनासहित ११ को मृत्यु

Yangle News
Yangle News
२०८१ असार २८ गते
पहिरोमा पुरिएर कास्कीका एकै घरका ७ जनासहित ११ को मृत्यु

पोखरा महानगरपालिका–१९ तल्लोकोटमा पहिरो खस्दा एकै परिवारका ७ जना घरभित्रै पुरिएका छन् । यस्तै पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो ।

पुरुन्चौर तल्लोकोटस्थित घर माथिबाट बिहीबार राती १० बजे आएको पहिरोले एक तले घरको ब्लकको गारो र टिनको छाना पुरेको थियो ।  घर पुरिँदा ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।  मृतकमध्ये प्रभा चितवनबाट श्रीमान् अस्मितसँगै माइत आएकी थिइन् । छिमेकी राधिका परियारको भने पहिरोमा पुरिएकाको उद्धारमा खटिएकै क्रममा पुरिएर निधन भएको हो ।

यस्तै पोखरा–३२ मा चैनपुरमा घर पहिरोले पुरिँदा आरती ओझाकी छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।