घट्यो बैंकहरुमा निक्षेपको ब्याजदर

Yangle News
Yangle News
२०८० मंसिर १ गते
घट्यो बैंकहरुमा निक्षेपको ब्याजदर

 

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज अवस्थामा रहेको र कर्जाको माग निक्षेपमा भएको वृद्धिको तुलनामा न्यून हुँदा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत घटाउनमा केन्द्रित हुन लागेका छन् । मंसिरका लागि निक्षेपको ब्याजदर प्रकाशित गर्दा २० मध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएर प्रकाशित गरेका छन् । कात्तिकको तुलनामा मङ्सिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थगत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटेको छ ।

व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ । कात्तिक महिनाकै ब्याजदरलाई कायम राख्ने बैंकहरु ६ वटा बैंक छन् । माछापुच्छ्रे बैंकले भने केही प्रतिशत ब्याजदर वृद्धि गरेको छ । कात्तिकमा माछापुच्छ्रेले व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो । तर मङ्सिरका लागि लागि भने बैंकले व्यक्तिगत र संस्थागततर्फ १०.६०३ प्रतिशत र ८.६०३ प्रतिशत कायम गरेका छन् ।

मङ्सिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन् । यी बैंकले भने कात्तिकको ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

सबैभन्दा धेरै ब्याजदर एनआईसी एशिया बैंकले २.०३५ प्रतिशतले घटाएको छ । मङ्सिरका लागि यो बैंकले व्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत ब्याज दिने भएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिरमा व्यक्तिगत निक्षेपतर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाले व्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.५१२ प्रतिशत, ग्लोवल आइएमईले व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ब्याज दिने भएका हुन् ।

यसैगरी, हिमालयन बैंक र नेपाल एसबिआईले मङ्सिर महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएका हुन् । ।