सरकारले विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाकोरुपमा अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘नेपाली क्रिकेट राष्ट्रिय टिमले निकै ठूलो सफलता हासिल गरेको छ । बैठकमा त्यसबारे पनि छलफल भयो,’ मन्त्री शर्माले भनिन्, ‘सरकारले अब विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।’
बैठकले, कर्णाली चिसापानी जलविद्युत् निर्माणका लागि अध्ययन अघि बढाउने समेत निर्णय गरेको छ । बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० मन्त्रिपरिषद्बारा स्वीकृत गरेको सञ्चारमन्त्री शर्माले बताएकी छन् ।
साथै बैठकले हाल इन्धनमा लगाइएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी जलविद्युत् आयोजनालाई उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
सरकारले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद्ले विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेकव छ ।