धान भित्र्याउने चटारो !

Yangle News
Yangle News
२०८० अशोज २९ गते
धान भित्र्याउने चटारो !

भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन चटारो छ । किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउन भ्याइँनभ्याइँ छ । यस्तै खेतमा पाकेका धान काट्ने,  झार्ने र घर ल्याउने काम पनि धमाधम भइरहेको छ । बर्षाले पाकेको धानमा क्षति पुर्याउने हो कि भन्ने डरका कारण पनि किसानलाई धान भित्र्याउन चटारो परेको बताउँछन् ।

भक्तपुरका मनोहरा,  हनुमन्ते र खस्याङ खुसुङ आसपास, सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपाडोल, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान खेती हुने गरेको छ ।

भक्तपुर नगरका नपुखु क्षेत्र,  ल्योसिख्यो,  भीमसेनस्थान,  बाराहीस्थान,  भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटामा धान सुकाउन किसान व्यस्त देखिन्छन् ।

यो क्षेत्रमा किसानले खुमल–६, खुमल–११, स्थानीय जातको ताइचिन र मन्सुलीका साथै डिवाई हाइब्रिड धान लगाउँदै आएका छन् । बढी फल्ने भएपछि किसान हाइब्रिड धानतर्फ आकर्षित भएका हुन् । यो धान एक रोपनी खेतमा १२ देखि १४ मुरीसम्म फल्छ ।

भक्तपुर देशकै औसतमा उच्च धान फल्ने जिल्ला भए पनि बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिन घटेसँगै धान खेती पनि घट्दै गएको छ । हाल जिल्लामा दस हजार दुई सय ४० हेक्टर खेतीयोग्य जमिन छ । तीमध्ये तीन हजार नौ सय २४ हेक्टर जमिनमा धानखेती गरिने र वार्षिक १९ हजार सातसय मेट्रिकटन धान उत्पादन हुने जिल्ला कृषि कार्यालयले जनाएको छ ।