सुरक्षित भविष्यको खोजिमा अस्ट्रेलिया जाने खेलाडीको सूचीमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगर पनि थपिएका छन् । विमल आज अस्ट्रेलियातर्फ गएका हुन् ।
नेपाली राष्ट्रिय टिममा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका विमल सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए ।
त्यसपछि युरोपका विभिन्न क्लबमा ट्रायल दिएका विमलले गत सिजनको लिग मछिन्द्र एफसीबाट खेलेका थिए ।
नेपालका लागि उनले ३९ खेलमा ९ गोल गरेका छन् । पछिल्लो केही वर्षयता नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडीहरु अस्ट्रेलिया लगायतका देश पलायन हुने क्रम बढेको छ । दुई वर्षमा दुई दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइसकेका छन् ।