पसाउने बेलाका धानका बाला कीराले टुक्रा–टुक्रा बनाउन थालेपछि दाङका किसान चिन्तित बनेका छन् । पसाउने बेला भएको धानको बालामा रोग लागेपछि किसान चिन्तित बनेका हुन् ।
“पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भगीरथ भण्डारीले भने, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।”
समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।
कीरा लागेपछि दुई–तीनपटक औषधि छरे पनि त्यसले काम नगरेको तुलसीपुर–७ निवासी किसान धनिराम भुसालले बताए । अहिले वर्षा रोकिएपछि धानमा यस्तो समस्या देखिएको उपमहानगरपालिका कृषि महाशाखाका कृषि प्राविधिक रवि न्यौपानेले जानकारी दिए ।
धानमा पातको फेद डडुवा, फड्के कीराजस्ता समस्या देखिएको उनको भनाइ छ । अहिले सो रोग नियन्त्रण गर्नका लागि रासायनिक विषादीको सिफारिस गरिएको उनले बताएका छन् ।
दाङका सबैजसो स्थानमा यस्तो समस्या देखिएको उनले बताए ।