झापाका बस्तीमा सधैँ जङ्गली हात्तीको त्रास

Yangle News
Yangle News
२०८० अशोज ७ गते
झापाका बस्तीमा सधैँ जङ्गली हात्तीको त्रास

 

झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थिन् । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना हो,  फुल टिप्दाटिप्दै ऐया पनि भन्न नपाई उनलाई जङ्गली हात्तीले लपेटेर किच्यो । जङ्गली हात्तीको आक्रमणमा परेर पन्नादेवीको घटनास्थलमै ज्यान गयो ।

असार १९ गते अर्जुनधारा–३ की १३ वर्षीया इक्सा लिम्बु छिमेकी भाउजुको घरमा साथी बस्न गएकी थिइन् । राति ३ बजेतिर आहार खोज्दै आएको जङ्गली हात्तीले घर भत्काउन थाल्यो । इक्साकी भाउजु जसोतसो भागेर अर्को घरमा पुगिन् तर उनी भने हात्तीको सुँढमा बेरिइन् । हात्तीको दाह्राले घोचिँदा उनको पेटमा ठूलो प्वाल नै पर्यो । चन्दा उठाएर घाइते इक्साको बल्लतल्ल उपचार भएको छ । गत वर्ष बुद्धशान्ति–५ की सम्झना श्रेष्ठलाई स्कुटर चढेर सडकमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रामक हात्तीले श्रेष्ठको ज्यान नै लियो ।

जङ्गलमा विचरण गर्ने हात्तीहरु पहिले पहिले गाउँवस्तीमा कहिलेकाहिँ मात्र आउँथे । सहरतिर पसेको त बिरलै सुनिन्थ्यो । अहिले दिनभरि जङ्गलतिर बस्ने हात्ती साँझ पर्नासाथ आहारको खोजीमा सहरका मानव वस्तीतिर चहार्ने गरेका छन् । झापामा दिउँसो जङ्गली हात्ती देखिनु सामान्य जत्तिकै भएको छ । झापाको उत्तरी भाग बाहुनडाँगीबाट प्रवेश गरेका सयौं हात्तीको हुल केही अवधि डुलेपछि भारततिरै फर्किने गरेका छन् तर रैथाने हात्ती भने जिल्लाका हरेक पालिकाका बस्तीसम्मै देखिने गर्छन् । झापाका बाहुनडागी, मेची नगर ९ को मागुरमाडी, थोप्लेबिरान लगायतका गाउँहरु हात्तीको बढि मारमा छन् ।

 

आहार खोज्दै बजारतिर

गत महिना पूर्वपश्चिम राजमार्गको कनकाई खण्डमा पर्ने सुरुङ्गामा हात्तीले रातभर बजार डुलेको भिडियो भाइरल भएको थियो । एक्लै पुगेको हात्तीले पसलमा राखिएको स्वादिष्ट खानेकुरा र नून छानीछानी खाएको थियो । सुरुङ्गा बजारमा जङ्गली हात्ती डुल्दा जनधनको सुरक्षाका लागि रातभर प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले हात्तीलाई अनेक प्रयास गरेर सुरक्षित रुपमा जङ्गलतिर धपाएका थिए ।

हात्ती संरक्षण अभियानमा लागेका शङ्कर लुइँटेलका अनुसार झापामा भारतको सुकुना जङ्गलबाट प्रवेश गर्ने र स्थानीय जङ्गलमा डुलिरहने गरी दुई खाले जङ्गली हात्ती पाइन्छन् । उनका अनुसार गत वर्ष एकैखेपमा ३० वटा हात्ती भारतबाट पसेका थिए । ती अहिलेसम्म फर्केका छैनन् । झापा, मोरङ र सुनसरीको सामुदायिक वनहरुमा ती हात्ती बाँडिएर डुलिरहेको लुइँटेलको भनाइ छ ।

यसबाहेक झापाका सामुदायिक बनहरुमा वर्षौंदेखि आश्रय लिदै आएका १३ वटा रैथाने हात्ती छन् । रैथाने हात्ती एक्लै बस्छन् र एक्लै सहरतिर पस्छन् । एक्ले हात्ती धेरै अटेरी र क्षतिदायक हुने गरेको छ । भारतबाट गत वर्ष आएका हात्ती झुण्ड झुण्डमा जंगलभित्रै बसेका छन् । वनभोज स्थलमा मानिसले फ्याँक्ने प्लास्टिकका थैलीमा रहेका नुनिला र स्वादिला खानेकुरा चाट्न पल्किएका रैथाने हात्तीले सहर पसेर त्यस्तै आहारको खोजी गरिरहेको उनको भनाइ छ ।

मेचीनगर–४ का वडाध्यक्ष एवम् हात्ती संरक्षण अभियन्ता अर्जुन कार्की जङ्गली हात्तीलाई आहार हुने विभिन्न फलफूलका बिरुवा जङ्गलभित्र हुर्काउन सके हात्ती सहर र बस्ती पस्ने क्रम रोकिने धारणा व्यक्त गर्छन् । उनले एक दशकदेखि सीमावर्ती मेची नदीको बगर र सामुदायिक बनहरुमा हात्तीका लागि प्रिय केरा, कटहरलगायतका फलफूलका विरुवा लगाउनु पर्ने वकालत गर्दै आएका छन् । हात्तीलाई पल्काउने फलफूल जङ्गलमा हुर्काउँदा हात्तीले स्थानीय वन क्षेत्रलाई स्थायी वासस्थान बनाउँलान् भनेर कतिपय स्थानीयवासी कार्कीको योजनासँग सहमत छैनन् ।

जङ्गलै फर्काउन फलफूल रोपौँ

जङ्गली हात्तीको उपद्रो उत्कर्षमा रहे तापनि मानव वस्ती, बाली र भौतिक सम्पत्ति जोगाउन हालसम्म गरिएका प्रयासहरु शत प्रतिशत भरपर्दो साबित हुन सकेका छैनन् । पटाका पड्काउने, फक्स लाइट बाल्ने र हवाई फायर गर्नेदेखि सीमा क्षेत्रमा सात किलोमिटर लामो सुरुङ खन्ने परियोजनाहरु विगतमा प्रयोग गरिए । अहिलेसम्मका प्रयासमध्ये सौर्य विद्युतीय घेरबार सबैभन्दा लाभदायक देखिएको छ ।

सङ्घीय र प्रदेश सरकारले विभिन्न कालखण्डमा विद्युतीय घेराबेराका लागि करोडौं बजेट बिनियोजन गरिसकेका छन् । तर, जङ्गलको हात्तीलाई जङ्गलमै फर्काउन उसका लागि मनपर्ने फलफूलका विरुवा जङ्गलमा रोप्ने योजनामा भने कसैले पनि बजेट हालेका छैनन् । “घेराबाराले मानववस्तीसँगै अन्नबाली समेत जोगाउने भएकाले यो प्रोेजेक्टमा सरकारले लगानी बढाउँदै आएको हो”, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती भन्छिन्, “हात्ती आफ्नो बाटो हिँडोस्, जङ्गलभित्रै डुलफिर गरोस्, तर बस्ती पसेर मानिसमाथि आक्रमण गर्ने र बालीनाली खाएर विनास गरिदिने कार्य बन्द होस् भनेर विद्युतीय घेराबेराका लागि हामीले केन्द्रसम्मै पहल गर्दै आएका छौँ ।”

झापाको प्राकृतिक जङ्गलको रुपमा निचाझोडा र जलथल चारकोसे झाडी रहेका छन् भने दर्जनौं सामुदायिक बन जिल्लाभर फैलिएका छन् । दक्षिणको कचनकबलदेखि उत्तरको बाहुनडाँगीसम्मको १२० किलोमिटर लामो सौर्य विद्युतीय घेराबेराको कार्य अन्तिम चरणमा पुगिसकेको छ । निचाझोडा, जलथल, पाँचपोखरी, जुकेखाडी, तेलपानी र रतुवामाई वृक्षारोपण आयोजनाको जंगलभित्र रैथाने हात्तीले बासस्थान बनाएका छन् । ती जङ्गलभित्र हात्तीका लागि खाने आहारको अभाव भएको हुँदा भोकाएका हात्तीहरु साँझ पर्नासाथ मानव वस्तीतिर पस्ने गरेको जानकारहरु बताउँछन् ।

253 views