नर्वेजियन महिलाले तोडिन निर्मल पुर्जाको कीर्तिमान

Yangle News
Yangle News
२०८० साउन ११ गते
नर्वेजियन महिलाले तोडिन निर्मल पुर्जाको कीर्तिमान

 

एक नर्वेजियन महिला र उनको नेपाली गाइडले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालको सबैभन्दा चाँडो आरोहणको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । क्रिस्टिना हारिला र तेन्जिन शेर्पा लामाले पाकिस्तानको केटू हिमाल आरोहण गर्दै यो उपलब्धि मात्र ३ महिना एक दिनमा हासिल गरेका हुन् ।

यसअघि यो कीर्तिमान नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जाको नाममा रहेको थियो । पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा यो कीर्तिमान राखेका थिए । पुर्जा अहिले सबै १४ वटा हिमाल बिना अक्सिजन सबैभन्दा चाँडो आरोहण गर्ने प्रयासमा रहेका छन् ।

विश्वका ४० भन्दा बढी पर्वतारोहीहरूले विश्वका सबैभन्दा अग्ला १४ वटा शिखरको आरोहण गरेका छन् । यसमध्ये थोरै मात्र महिला रहेका छन् ।

३७ वर्षीया हारिला सशक्त पर्वतारोही भए पनि यो अभियानका लागि प्रायोजक पाउनै उनलाई धौ–धौ परेको थियो । यसका लागि उनले आफ्नो अपार्टमेन्ट नै बेच्नुपरेको थियो । ‘यदी म पुरुष भएको भए, यो अभियान गर्न सहज हुन्थ्यो होला,’  उनले गत मेमा एएफपीसँग कुरा गर्दै भनेकी थिइन्, ‘यो संसारमा महिला हुनु अर्कै छ, प्रयोजनको सवालमा मात्र होइन ।’ हारिला नर्वेको उत्तरमा रहेको भास्डोकी बासिन्दा हुन् । त्यहाँको सबैभन्दा अग्लो भूभाग भनेको मात्र ६ सय ३३ मिटरको रहेको छ । त्यसैले उनले सानैदेखि पर्वतारोहण सुरु गरेकी होइनन् । फुटबल, ह्यान्डबल र क्रस कन्ट्री दौडमा सहभागी भएकी उनी सन् २०१५ मा तान्जानियाको किलिमन्जारो पुगेपछि मात्र पर्वतारोहण सुरु गरेकी हुन् ।

 

उता तेन्जिन भने १६ वर्षको उमेरदेखि गाइडको रूपमा काम गर्दै आएका छन् । उनी यो अभियानमा हारिलाको महत्त्वपूर्ण सहयोगीका रूपमा रहेको उनको टीमले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

279 views