भोलिदेखि काठमाडौँ महानगरका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

Yangle News
Yangle News
२०८० असार ३ गते
भोलिदेखि काठमाडौँ महानगरका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

 

काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिनेछ । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।

यसबारे मेयर शाहले फेसबुकमार्फत जानकारी दिंदै लेखेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’

उनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएकोतर्फ पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । फिल्म आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय फिल्मलाई सोमबारदेखि निषेध गरिएको उनले जनाएका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।

आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।

मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए ।

 

368 views