नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल जितविहीन बनेको छ । आज सम्पन्न चौथो तथा अन्तिम खेलमा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग चार विकेटले पराजित भयो ।
नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । युएईका मोहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । शाहदादले मोहम्मद वासिनलाई चौथो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । मोहम्मदले ७३ बलमा ७६ रन बनाएर आउट भए । बलिङमा नेपालका करण केसीले ३, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले एक/एक विकेट लिए ।
त्यसअघि आइसीसी एकेडेमी ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । कुशल मल्ल ४५, आसिफ शेख ३४, कुशल भुर्तेल २, कप्तान रोहित पौडेल २, आरिफ शेख ३०, दीपेन्द्रसिंह ऐरी ३७, करण केसी ०, नन्दन यादव १ रनमा आउट भए । ललित राजवंशी ४ र सन्दीप लामिछाने १५ रनमा अविजित रहे । बलिङमा युएईलाई धु्रव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले दुईदुई विकेट लिए । यो सिरिजमा नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन ।
नेपालले अमेरिका र युएईसँगका समान दुई खेल गुमाएको हो । नेपाल युएईसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । त्यस्तै अमेरिकासँग नेपाल पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले खेल पराजित भएको थियो ।
गत महिना ओमानमा भएको इस्ट एसिया तथा एसिया प्यासिफिक क्षेत्र टी-ट्वान्टी छनोटमा अपराजित रहँदै विश्वकप छनोटको उपाधि जितेको थियो । यसका साथै वेष्ट इन्डिजसँगको सिरिजसमेत जितेको थियो । तर, नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने एक जित पनि निकाल्न सकेन ।
लिग–२ को अंकतालिकामा २० खेल खेलेको नेपाल ५ जित, १३ हार र २ बराबरीसहित १२ अंक जोड्दै सातौं स्थानमा छ । २४ खेलबाट ३६ अंक जोड्दै अमेरिका पहिलो र २० खेलबाट १० अंक जोड्दै युएई अन्तिम स्थानमा छन् ।