बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत किन्ने पक्का, सम्झौतामा चाँडै हस्ताक्षर हुने

Yangle News
Yangle News
२०८० जेष्ठ ३ गते
बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत किन्ने पक्का, सम्झौतामा चाँडै हस्ताक्षर हुने

 

बंगलादेश नेपालबाट ४० मेगावाट बिजुली किन्न सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरि नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको हो ।

नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेश निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम,  भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिए ।

एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो । हाल नेपाल-भारतबीच विद्युत आयातनिर्यातको सबै कारोबार यहि कम्पनी मार्फत् हुँदै आएको छ । २०७७ को साउन पहिलो साता नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

प्राधिकरणले वर्षायाममा बढी भएको बिजुली नेपालले भारत निर्यात गर्दै आएको छ । अब बंगलादेश पनि निर्यात गर्ने तयारी छ । तर यसका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहन्छ त्यस्ले बैठकमा  नेपाल र बंगलादेशबीच छुट्टै डेडिकेटेड प्रसारण लाइन बनाउने विषयमा पनि भएको थियो ।

सोमबार र मंगलबार आयोजित नेपाल-बंगलादेश ऊर्जासचिवस्तरीय बैठकमा भारतको प्रसारण लाइन प्रयोगका लागि भारतलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने निर्णयसमेत भएको छ ।

सोही बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशको संयुक्त लगानी हुने र त्यस सम्बन्धी सम्झौता पत्रमा ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय भएको छ ।

२०७५ सालको साउनमा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी कोअपरेसन’ सम्बन्धी समझदारी भएको थियो । एमओयूपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन बंगलादेश गएका थिए । त्यसयता बिजुली निर्यातको तयारीका लागि बंगलादेशका अधिकारीहरुको टोलीले पनि थुप्रै पटक नेपालको भ्रमण गरिसकेको छ ।