डाक्टर बन्न अनिवार्य प्रयोगात्मक परीक्षा उत्तीर्ण गर्नुपर्ने

Yangle News
Yangle News
२०८० अशोज १८ गते
डाक्टर बन्न अनिवार्य प्रयोगात्मक परीक्षा उत्तीर्ण गर्नुपर्ने

 

डाक्टर बन्नका लागि अब अनिवार्य रुपमा प्रयोगात्मक परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको सीप परीक्षणपछि मात्रै लाइसेन्सका लागि लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो ।

नेपाल मेडिकल काउन्सिल ऐन र नियमावली २०२४ ले लाइसेन्स परीक्षामा लिखित परीक्षा अनिवार्य र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा,  अन्तरर्वार्ता र अन्य किसिमको परीक्षा लिन सक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुरुप अबदेखि प्रयोगात्मक परीक्षा पनि अनिवार्य गरिएको काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्ण अधिकारीले बताए । अधिकारीका अनुसार अबदेखि एमबीबीएस र बीडीएसपछि लिइने लाइसेन्स परीक्षामा सीप परीक्षणमा उत्तीर्ण नभएसम्म लाइसेन्स परीक्षामा समावेश हुन पाइने छैन ।

ज्ञान र सीप परीक्षणबाट लाइसेन्स परीक्षा गर्दा थप गुणस्तरीय जनशक्ति उत्पादन हुने उनले बताए । प्रयोगात्मक अभ्यासका ६० ओटा सीप तोकिएको छ । त्यसमध्ये अहिलेका लागि विद्यार्थी २५ वटा सीपबाट प्रश्न सोधिनेछ ।

उक्त प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएपछि मात्रै लाइसेन्स परीक्षाका लागि योग्य हुनेछन् । ‘इन्टर्नसिप गर्दा विद्यार्थीले अस्पतालको प्रयोगशालामा सीप सिकेको आधारमा प्रमाणपत्र विश्वविद्यालयले दिन्छ । उक्त सिप परीक्षा उत्तीर्ण गरेपछि मात्रै विद्यार्थीले लाइसेन्सको फाराम भर्न पाउँछ, नत्र पाउँदैन’ रजिष्ट्रार अधिकारीले भने।