अमेरिकी समाचार संस्था सीएनएनले सन् २०२३ मा घुम्नका लागि उत्कृष्ट ठाउँहरुको सूचिमा नेपालको मुस्ताङलाई पनि राखेको छ ।
विश्वका २३ देशहरुका घुम्नैपर्ने उत्कृष्ट गन्तव्य सम्बन्धि सीएनएनको रिर्पोटमा मुस्ताङ उपत्यका पनि परेको हो । रिपोर्टमा मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक ठाउँको रूपमा उल्लेख गरिएको छ ।
तिब्बतको ढोकैमा रहेको मुस्ताङ उपत्यका तल्लो मुस्ताङको जोमसोम भन्दा माथि रहेको छ । हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सीएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा मुस्ताङलाई उल्लेख गरेको छ ।
यसका साथै मुस्ताङ भ्रमणमा पुग्ने पर्यटकले पुराना गाउँहरु र बौद्ध गुम्बाहरु अवलोकन गर्न पाउनेछन् । गण्डकी नदीमाथि निर्माण गरिएका मानव निर्मित गुफाहरु जसमा दुई हजार वर्ष पुराना बौद्ध मुर्ति र चित्रकलाहरु छन्, त्यहाँको छुटाउनै नहुने कुरा हो । मुस्ताङ उपत्यका पुग्नु एउटा शाहसिक कार्य हो । त्यहाँ नेपालको राजधानी काठमाडौँबाट २५ मिनेटमा पोखरा र पोखराबाट थप २० मिनेटमा जोमसोमसम्म हवाई मार्गबाट पुगिन्छ । विकल्पमा १२ घण्टाको ड्राइभमा सडक मार्ग भएर जाने हो भने यात्राका क्रममा देखिने दृश्यहरु अत्यन्तै मनमोहक छन् ।
अबको केहि महिनामा सञ्चालनको तयरीमा रहेको सिन्तामनी मुस्ताङ ए बेन्स्ले कलेक्सनका परम्परागत तिब्बति घरहरुको झल्को दिने सुविधायुक्त २९ वटा स्वीट रुमहरु पर्यटकलाई स्वागत गर्न तयारी अवस्थामा छन् । त्यसैले एउटा साहसिक यात्रा, प्राकृतिक सौन्दर्यता, पुराना तिब्बती संस्कृति र बौद्ध परम्परालाई नजिकबाट हेर्न मुस्ताङ पुग्नै पर्ने सीएनएनको रिपोर्टले सुझाएको छ ।
सीएननको सूचिमा पोल्याण्ड, पश्चिमी अष्ट्रेलिया, लिभरपुर इङल्यण्ड, चार्लेस्टोन साउथ क्यारोलिना, भिल्नस लिथुआनिया, फिजी, मनाउस ब्राजिल, लाओस, इजिप्टको कायरो लगायतका ठाउँहरु पनि भ्रमण गर्नैंपर्नेमा छन् ।