यात्री, असीम पाण्डे नेतृत्वको सात युवाको समूहले नेपालमै बनाएको विद्युतीय मोटरसाइकल हो । सबैभन्दा सुरुमा उनीहरुले यात्री प्रोजेक्ट जिरो नाममा मोटरसाइकल बनाउन सुरु गरेका थिए । त्यसै अनुरुप २०१९ फेब्रुअरीमा यात्रीको पहिलो मोडल अर्थात ‘प्रोजेक्ट जिरो’ बन्यो ।
प्रोजेक्ट जिरोको सम्पूर्ण डिजाइन नेपालमै गरी अमेरिका, चीन, भारत तथा युरोपेली मुलुकका कम्पनीसँगको सहकार्यमा मोटरसाइकल तयार भएको हो । यो मोटरसाइकलको ३० किलोवाट ब्याट्री क्षमता छ, जसअनुसार सिंगल चार्जमा पनि मोटरसाइकल २ सय ३० किलोमिटर गुड्न सक्छ ।
क्याफे रेसर डिजाइनबाट प्रभावित उनीहरुको यात्री बाइकमा विशेषत सहरी क्षेत्र र आधुनिकताको राम्रो कम्बिनेसन छ । कार्बन फाइबरको प्रयोग गरिएकाले अरु बाइकभन्दा हलुका र सुरक्षित पनि । यात्रीले नेपालमा प्रोजेक्ट जिरो र प्रोजेक्ट वान गरी २ वटा मोडलका इलेक्ट्रिक मोटरसाइकललाई बजारमा ल्याइसकेको छ ।
यसको मूल्य ५ लाख ६५ हजार, ६ लाख १३ हजार ४ सय र १९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । महंगो मूल्यको यात्री मोटरसाइकल हो, जिरो प्रोजेक्ट ।
यो मोटरसाइकलको डिजाइन क्याफे रेसर स्टाइलबाट प्रेरित रहेको छ । जसलाई निर्माण गर्दा एकदमै स्तरिय सामाग्रीहरुको प्रयोग गरेको कम्पनीको दावी छ ।
यो मोटरसाइकलमा ८ किलोवाट आवरको व्याट्री जडान गरेको छ । जसलाई एकपटक चार्ज गर्दा २३० किलोमिटर सम्मको रेन्ज पाउन सकिने छ । २ घण्टामा मोटरसाइकलको ब्याट्री फुल चार्ज गर्न सकिन्छ । पावर र पर्फमेन्सको मामिलामा समेत यो बाइक निकै मजुवत छ । यसको अधिकतम पावर ६४ एचपी र टर्क १२० एनएम रहेको छ । मोटरसाइकललाई १४० किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिन्छ । यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स भने १७५ एमएम मात्र रहेको छ ।
कार्वन फाइबर बडीसँगै स्टिल च्यासिसमा निर्माण गरिएको यो बाइकमा पूर्णतः एलईडी लाइट दिइएको छ । नेभिगेसन सहितको ७ इन्चको फुल एचडी डिस्प्ले कन्सोल उपलब्ध गराइएको यो बाइक फिचर्सको मामिलामा पूर्णतः लोडेड छ भन्दा फरक पर्दैन ।
तर विडम्बना नेपालमै डिजाइन गरिएको र उत्पादन समेत नेपालमै भएको यात्री मोटरसाइकलको व्यावसायिक उत्पादन अहिले बन्द भएको छ । सबैको चासोमा रहदा रहदै पनि ६ महिनादेखि उत्पादन हुन सकेको छैन ।
हालसम्म ८० वटाभन्दा बढी मोटरसाइकल बनाएर बिक्री गरिसकेको कम्पनीले बिक्री भएका मोटरसाइकलको सवारी दर्ता नै गर्न मिलेन जसका कारण उपभोक्ता मारमा छन् । दर्ता हुन नसक्दा यात्रीले उत्पादन गरेका मोटरसाइकलहरूले नम्बर प्लेट पाउन सकिरहेका छैनन् । त्यसैले कम्पनीले थप उत्पादन रोक्नुपर्ने अवस्था आएको हो । नेपालमै उत्पादित सवारी साधनको भन्सार प्रज्ञापनपत्र नहुने र यस्तो अवस्थामा के गर्ने भन्ने एनमा स्पष्ट नलेखिएकाले दर्ता गर्न नमिल्ने यातायात व्यवस्था कार्यालयका कर्मचारी बताउँछन् ।