पोखरा र आसपासका क्षेत्रमा लामो समय वर्षा नभएकाले खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत मर्दी खोलामा त्यसको प्रभावस्वरुप पानीको सतह घट्दा खानेपानी वितरणमा समस्या भएको छ ।
नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पुर्याउन गाह्रो परेको सूचना जारी गरिसकेको छ । खडेरीका कारण हाल भइरहेको पानी उत्पादनमा कमी आएकाले पोखरा महानगरभित्र कतिपय स्थानमा पानी वितरणमा समस्या आएको सूचनामार्फत जानकारी दिइएको हो । हाल उत्पादन भइरहेको पानी आपूर्ति नभएका क्षेत्रमा आलोपालो गरी वितरणका लागि संस्थान प्रयासरत रहेकाले अनावश्यक पानी खर्च नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।
खानेपानीको समस्याबारे जानकारी गराउन बिहीबार संस्थानको कार्यालय पुगेका पोखरा महानगरपालिका–१३ का भीमबहादुर गुरुङ भन्छन्, “मैले घर बनाएको पाँच वर्ष भयो, पानीको समस्या त पहिलादेखि नै हो । मैले महिनामा एक हजार लिटर पानी ट्याङ्करबाट मगाउँथे”, पछिल्लो दुई हप्तादेखि पानी नै आएको छैन, अहिले त झनै समस्या परेको छ ।”
खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारी राजेश थापाले बताएका छन् । घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको उनले सुनाए । “खानेपानीको समस्या पर्यो भन्दै पहिला पनि समस्या नआएको होइन, तर पछिल्ला दिनमा अधिक फोन आउने गरेको छ”, उनले भने ।
मुहानमा पानीको सतह घट्नु एउटा कारण भए पनि खानेपानीको नयाँ प्रोजेक्ट परीक्षणको कामले पनि खानेपानी वितरणमा समस्या भएको सबइञ्जीनियर लक्ष्मण पाण्डेले बताए ।
सोमबारदेखि पनि पानी वितरणमा समस्या हुने भएकाले उपभोक्तालाई अनावश्यक पानी खर्च नगर्न आग्रह गरिएको छ । आफूलाई जस्तै पानीको महत्व अरुलाई पनि छ भन्ने महसुस गरी अनावश्यकरूपमा धारा खुला नराखीदिन, मोटर प्रयोग नगरिदिन पानीको सही सदुपयोग गरिदिन संस्थानले आग्रह गरेको छ ।
हाल पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष कार्कीले जानकारी दिए । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ । पोखरामा संस्थानका छवटा खानेपानी ट्याङ्की छन् । जसमध्ये विन्ध्यवासिनीमा ४० लाख लिटर, माटेपानीमा साढे चार लाख लिटर, बालधारामा एक लाख २० हजार लिटर, खहरेमा एक लाख लिटर क्षमताका ट्याङ्की छन् । यीबाहेक अमला बिसौनी र लभ्लीडाँडाको ट्याङ्कीबाट पनि पानी वितरण भइरहेको छ । पोखरामा संस्थानबाट करिब ४८ हजार धारा जडान भएका छन् ।