प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।
आजको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत पाएका हुन । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा २६२ जना सांसदको उपस्थिति थियो ।
प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिएका छन् ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तावको विपक्षमा मत दिएका छन् भने नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले अहिले विपक्षमा मतदान गरेका हुन ।
दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकार छाडेपछि प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत लिएका हुन । प्रतिनिधि सभाको अर्को बैठक चैत १२ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।