चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, गत आर्थिक वर्ष ०८१/८२ को सोही अवधिको तुलनामा रेमिट्यान्स २९.९ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको साउनमा एक खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत-नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो ।
अध्ययनका लागि विदेशिने क्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनामा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ । शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा१४ अर्ब ९६ करोड थियो ।
चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार अर्ब ७७ करोड थियो ।
देशभित्र कूल विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार गएको असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको हो ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गएको असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा गएको साउन मसान्तमा चार प्रतिशतले बढेर २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गएको असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा गएको साउन मसान्तमा १२ प्रतिशतले बढेर दुई खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ ।
गएको साउन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चालू खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको यही अवधिमा चालु खाता ३३ अर्ब आठ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा २५ करोड रुपैयाँले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोड रुपैयाँले बचतमा छ ।