जजिरा एयवेजले भैरहवा विमानस्थलबाट फेरि उडान थाल्ने भएको छ । एयरवेजले यहि फागुन २५ गतेबाट सातामा तीन दिन उडान गर्ने विज्ञप्ती मार्फत जानकारी गराएको हो ।
भैरहवादेखि कुवेतसम्मको एकतर्फि भाडादर २८ हजार ८३६ रुपैयाँ कायम गरिएको एयरवेजले जनाएको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको उडान तालिका अनुसार सोमवार, बुधवार, शुक्रवार बेलुकी ११:५० बजे त्यस्तै मंगलबार, बिहिवार र शनिवार विहान ८: ०५ बजे उडान भर्ने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिवद्धता अनुसार मध्यपूर्वमा पुनः सिधा उडान गर्न लागिएको हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै नेपालको आर्थिकस्तर सुधारमा सहयोग पुर्याउने उद्देश्यले सहकार्य गर्न आफुहरु तयार रहेको नेपालस्थित जजिरा एयरवेजका बजार व्यवस्थापक तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसका अध्यक्ष रविचन्द्र सिंहले बताएका छन् ।
जजिरा एयरवेजले मध्यपूर्वका ५० भन्दा बढि गन्तव्यमा व्यवसायिक र कार्गो उडान गर्दै आएको छ । यस्तै मध्य र दक्षिण एसिया, अफ्रिका र युरोपका विभिन्न देशहरुमा व्यवसायिक उडान गर्दछ ।