संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सका अधिकारीहरुलाई बिजनेस प्लान बनाउन निर्देशन दिएका छन् । साथै हरेक दिन मन्त्रालयमा रिपोर्ट पठाउन निर्देशन दिएका छन्।
मन्त्री किरातीले भने, ‘कुन जहाज कहाँ र कति मिनेट डिले भयो ? किन भयो ? कुन जहाजको चक्का हरायो ? कुन जहाजको तार मुसाले काट्यो ? त्यसको विवरण हामीलाई चाहियो । हामीले पनि त साँझ नागरिकलाई जवाफ दिनुपर्यो नि !’
उनले अगाडि भने, ‘मान्छेले हामीलाई बेलुका सोध्छ, त्यो बेला मैले हतार हतार फोन कसलाई गरौं ? मन्त्रालयबाट म फर्कंदा जहाजको रिपोर्ट हेरेर फर्कन पाऊँ । म ढिलै फर्कन्छु, राति १२ पनि बज्न सक्छ । तर, रिपोर्ट मलाई चाहिन्छ ।’
‘निगममा ११ वर्षदेखि थन्किएको जहाज किन बन्दैन ? बन्छ भने कसरी बनाउने ? नबन्ने भए के गर्ने ? योजनासहित मन्त्रालयमा प्रस्ताव आउनुपर्यो ।’
इ–टिकेटिङ किन भएन ?
पर्यटन मन्त्री किरातीले नेपाल एयरलाइन्सको इ–टिकेटिङ (अनलाइन माध्यमबाट टिकट काट्न मिल्ने व्यवस्था) माथि पनि प्रश्न उठाएका छन् । अरु विमान कम्पनीमा इ–टिकेटिङ भए पनि नेपाल एयरलाइन्समा आफूले नभेटेको भन्दै उनले भने, यतीले सक्छ, बुद्धले सक्छ, निगमले किन सक्दैन ?’
टिकट काट्न आएको मानिसले नपाउने तर दलालले विमानस्थलमा टिकट बोकेर गएको सुनिएको उनले बताए । ‘अझ अचम्म त यहाँका कर्मचारीले मात्र होइन, बाहिरका कर्मचारीले पनि यहाँको टिकट बेच्छन् भन्ने सुनेको छु’ मन्त्री किरातीले भने, ‘ खान त सबैले खान्छन्, घिच्न त भएन नि !’
मन्त्रीले प्रश्न उठाएपछि नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले १५–२० दिनमा इ–टिकेटिङ कार्यान्वयन गर्ने तयारी भइरहेको जवाफ दिए । मन्त्री किरातीले एक महिनाको समय दिए । ‘एक महिनाभित्र अनलाइन टिकट कार्यान्वयनमा ल्याउनुहोस्’, उनले अगाडि भने, ‘सबभन्दा पुरानो सरकारको संस्थाले सक्नैपर्छ, सकिंदैन भने राजिनामा दिए भइहाल्यो ।’
विमानस्थलमा लगेज हराउने गरेको गुनासो आएको भन्दै उनले अब त्यस्तो सुन्नु नपरोस् भनेका छन् । ‘लगेजहरु टन्टनी बाँधेर, टेप लगाएर किन ल्याउँछ भनेको त चोरी हुन्छ भनेर रहेछ’, उनले नेपाल एयरलाइन्सका अधिकारीहरुलाई निर्देशन दिए, ‘टन्टनी डोरीले बाँधेर लगेज ल्याउनुपर्ने बाध्यता हटाउनुपर्यो ।’
मन्त्री किरातीले नेपाल एयरलाइन्स हातखुट्टा सुकेको, भुडी फुकेको मच्छड जस्तो भएको भन्दै नेपाल एयरलाइन्सलाई भर्तीकेन्द्र नबनाउने बताए । ‘भर्तीकेन्द्र बनाउँदा निगम झन् झन् डुब्यो भन्छन् मान्छेहरु । मासिक रुपमा आर्थिक स्थिति के हुन्छ भन्नेबारे एउटा र अर्को समग्र बिजनेस प्लान अर्को ल्याउनुहोला’ उनले भने ।