पाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ।सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टि२० विश्वकप उपाधि जितेको हो ।
पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो।
इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा नटआउट रहे। ।
तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको अन्तिम बलमा ओपनर एलेक्स हेल्सलाई एक रनमा बोल्ड गरे । अर्का तीव्र गतिका बलर हरिस रौफको बलमा फिलिप साल्ट १० रनमा इफ्तिखार अहमदबाट मिड विकेटमा क्याच आउट भए ।
हरिस रौफको छैटौं ओभरको तेस्रो बलमा जस बटलर एज लागेर मोहम्मद रिजवानबाट २६ रनमा क्याच आउट भए । बटलरले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । मोईन अली १२ बलमा ३ चौकासहित १९ रनमा मोहम्मद वासिम जुनियरको बलमा बोल्ड आउट भए ।
चौथो विकेटका लागि ह्यारी ब्रुक र बेन स्टोक्सले ४२ बलमा ३९ रनको साझेदारी गरे । स्पिनर शादब खानको बलमा ब्रुक २० रनमा आउट भए । ब्रुकको क्याच शाहिन शाह अफ्रिदीले लङअनमा लिएका थिए । अफ्रिदी उक्त क्याच लिनेक्रममा १३ औं ओभरको तेस्रो बलमा घाइते भएका थिए ।
पाकिस्तानका हरिस रौफले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदीले २.१ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । शादब खानले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।
यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो।
उसका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए। २८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान बाबर आजमले ३२ रन बनाए। २८ बल खेलेका बाबरले २ चौका प्रहार गरे।
शादब खानले १४ बलमा २ चौकासहित २० रन जोड्दा ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान १५ रनमा आउट भए। युवा ब्याटर मोहम्मद हरिसले ८ रन बनाए।
मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए। इफ्तिखार अहमद शून्यमा क्याच आउट भए।
इंग्ल्यान्डका लागि साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चिएर २ विकेट लिए।
बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।