बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन पोखरा उधोग वाणिज्य संघको आग्रह

Yangle News
Yangle News
२०७९ कार्तिक १६ गते
बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन पोखरा उधोग वाणिज्य संघको आग्रह
गण्डकी : पोखरा उधोग वाणिज्य संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेका छन् । संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री पोखरेललाई भेटेर उक्त आग्रह गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य संघसहित देशका निजी क्षेत्रसँग सम्बद्ध संघ र संस्थाहरूले आपत्ति जनाउँदै संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
पोखरा उधोग वाणिज्य संघले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्ने लगायतका माग राख्दै संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्दोलनका लागि संघका अध्यक्ष प्रजापतिको संयोजकत्वमा एक सय एक सदस्यीय संघर्ष समितिसमेत गठन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।
भेटघाटमा मुख्यमन्त्री पोखरेलले बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय ब्याजदर बढाएकोबारे आफू जानकार रहेको र ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिए । “यस विषयमा प्रदेश सरकारले नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूका प्रमुखसँग छलफल गरेर समस्या समाधानको पहल गर्नेछ”, उनले भने । प्रतिनिधिमण्डले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसँग पनि भेटघाट गरी यो समस्याबारे जानकारी गराएको छ ।
293 views