करिव २ वर्ष अगाडी हाम्रो बाल शल्यचिकित्सा वहिरंग विभागमा एउटा ४ महिनाको बालक देखाउन ल्याइएको थियो । बच्चाका बुवा आमा बच्चाको भिडियो एक्सरे रिर्पोट लिएर देखाउन आउनुभएको थियो । रिर्पोटमा बच्चाको देब्रे मृगौला माथी सानो मासु पलाएको भनी लेखिएको थियो । सो बच्चालाई पूर्ण रुपमा परिक्षण गरेपछि एक किसिमको ट्युमर भेटियो । हामीले विभिन्न जाँचहरु गरायौं र तत् पश्चात देब्रे मृगौला माथिको ग्रन्थी (supra renal gland) को ट्युमर भन्ने निष्कर्षमा पुग्यौं । त्यस ट्युमरलाई न्युरोब्लास्टोमा भन्ने शंका गरियो ।
बच्चाहरुमा देखिने ट्युमरहरु मध्ये, न्युरोब्लाष्टोमा अलि बढी मात्रामा ढिला देखिने र धेरै जसो ढिला फेला पर्ने खालको हुन्छ । यस्तो ट्युमर ढिला देखा पर्ने हुनाले उपचार क्रममा ढिलाई हुने र पूर्ण तवरले निको पार्न नसकिने हुन्छ । धेरै जसो बच्चाहरुलाई यस्तो ट्युमर देखा पर्दा शरीरको अन्य भागमा फैलिसकेको हुन्छ । यो ट्युमर मष्तिस्क, कलेजो, हाड जोर्नी लगायत शरीरको विभिन्न भागमा फैलिन सक्छ । यस कारण ढिलाई हुदा बच्चाको ज्यान बचाउन गाह्रो हुन्छ ।
के हो यो न्युरोब्लाष्टोमा ?
न्युरोब्लाष्टोमा एक किसिमको नशा (Nerves) को ट्युमर हो । बच्चा आमाको पेटमा हुदा नशाका कोषिकाहरु शरीरको विभिन्न भागहरुमा फैलिन्छन् यसलाई Neural crest cell भनिन्छ । यो कोषिकाहरु शरीरको विभिन्न भागमा गएर नशाहरु बनाउछन् यस्ता कोशिका बन्ने क्रममा कुनै कुनै कोशिका अत्याधिक वृद्धि भइ ट्युमर बनाउछन् । त्यसैले यो शरीरको नशा हुने भागहरुमा कुनै पनि ठाँउमा देखिन सकिन्छ । यसैका कारण समयमा भेटिन र उपचार गर्न गाह्रो हुन्छ । तर यस प्रकारको ट्युमर छिटै भेटियो भने औषधि उपचार र शल्यक्रियाद्धारा निरमुल गर्न सकिन्छ ।
के के हुन त न्युरोब्लाष्टोमा लक्षणहरु ?
न्युरोब्लाष्टोमा भएका बालबालिकाहरुमा सुरुवातमा देखिने खालका लक्षणहरु हुँदैनन् । तर कतिपय अवस्थामा बच्चाहरु धेरै रुने, छिटो झर्किने र पखला लाग्ने लक्षण देखिन्छन् । धेरै जस्तो अवस्थामा अरुनै कुनै कारणले पेटको भिडियो एक्सेरे गर्दा यस्ता ट्युमरहरु देखिन्छन् । कुनै अवस्थामा बच्चाहरुलाई नुहाउने क्रममा, शरीरको मध्य भागमा, मृगौला हुने ठाउँमा डल्लो जस्तो भेटिन्छ । यसको समयमै उपचार गरिएन भने शरीरको अन्य भागमा फैलिन्छ । जस्तै मष्तिस्क, कलेजो, फोक्सो इत्यादी । यसरी फैलिने क्रममा शरीरमा, टाउकोमा डल्लाहरु पनि देखिन्छ । यस्ता डल्लाहरु कुनैकुनै समय दुख्ने पनि हुनसक्छ ।
न्युरोब्लाष्टोमा शकां भए के गर्ने ?
कुनैपनि १५ वर्ष मुनिका बाल बालिका माथि उल्लेख गरिएमा लक्षणहरु देखिएमा अथवा भिडियो एक्सेरे गर्दा भेटिएमा तुरुन्तबाट बाल शल्य चिकित्सकको सल्लाह लिने । परिक्षणका लागि रगत, पिसाब, CT Scan र अरु विभिन्न जाँच गर्न सकिन्छ । समयमा जाँच गराएमा तुरुन्त उपचार सुरु गर्न सकिन्छ । कतिपय अवस्थामा ट्युमरको सानो टुक्रा निकाली जाँच गर्नुपर्ने पनि हुनसक्छ ।
उपचारका विधीहरु
यस किसिमको ट्युमर छिटै भेटिएमा, शल्यक्रिया गरी पुरै निकाल्न सकिन्छ र जाँच गरि फैलिने वा नफैलिने छुट्याउन सकिन्छ । नफैलिने खाल्को छ भने शल्यक्रिया मात्र गरे पुग्छ । तर फैलिने खालको छ भने शल्यक्रिया अघावै अथवा गरिसकेपछि औषधी उपचार गर्न सकिन्छ जसलाई किमोथेरापी (Chemotherapy) भनिन्छ । कुनै कुनै अवस्थामा ट्युमर धेरै ठुलो भएमा वा शरीरका अन्य अगंमा टासिएको भए सुरुमा किमोथेरापी गर्न सकिन्छ । जस्का कारण ट्युमर धेरै ठुलो भएमा आकार सानो हुन्छ र शल्यक्रिया गर्न सकिन्छ । तर धेरै ढिला भयो र शरीरको अरु भागमा फैलियो भने उपचार गर्न गाह्रो हुन्छ र ज्यान बचाउन नसकिने हुन सक्छ।
हामीकहाँ आएको बालकको समयमै रोग पत्ता लागेको र समयमै उपचार भएकोले ट्युमर पुरै निकाल्न सकियो । निकालिएको ट्युमर नफैलिने खालको भनि परिक्षण गर्दा पत्ता लागेकोले पछि किमोथेरपी दिनु परेन । अहिले बच्चाको अवस्था सामान्य छ र दैनिक सामान्य जीवन यापन गरिरहेको छ।
तसर्थ, डर लाग्दो देखिने रोग पनि समयमानै भेटियो र सहि उपचार गरियो भने सजिलै निको हुन सक्छ र धेरै बच्चाहरको ज्यान जोगाउन सकिन्छ ।