नेपालको प्रजातान्त्रिक राजनीतिक इतिहास

Yangle News
Yangle News
२०७९ भदौ ३० गते
नेपालको प्रजातान्त्रिक राजनीतिक इतिहास

नेपालका आधुनिक राजनीतिक इतिहास पृथ्वीनारायण शाहको पालाबाट सुरु भएको हो । शाहवंशीय शासनकालभित्रै १०४ बर्ष राणाहरुको शासन नेपालमा चल्यो । २००७ साल सात भन्दा अघिको राजनीतिक इतिहास हेर्ने हो भने त्यो पूर्णतः निरंकुश, परिवारवाद र बंशवादमा आधारित थियो । नागरिकहरु रैतीको रुपमा थिए । नागरिक अधिकारहरु कुण्ठित थिए ।

दलहरुको उदय

अधिनायकवादी शासन व्यवस्थाको दमनमा पिल्सिएका जनताहरु संधै चुप लागेर बस्ने अवस्था थिएन । त्यसैले विस्तारै अधिकारको खोजी गर्न थाले । जसको प्रयास स्वरुप बिक्रम सम्बत्  १९९३ साल सालमा नेपालमा सर्वप्रथम प्रजा परिषद् नामक राजनीतिक दलको जन्मियो । राणा शासनबाट मुक्तिका लागि पहिले संगठित प्रयास प्रजापरिषद् पार्टीबाट भयो । त्यसपछि वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस, वि. सं. २००५ सालमा नेपाली कांग्रेस, २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी र २००७ सालमा गोर्खा परिषद् लगायतका पार्टीहरू गठन भई नेपालमा राजनीतिक दलहरूको विकास हुँदै आएको पाइन्छ । नेपालमा राजनीतिक दलहरु १९९३ सालदेखि गठन हुन सुरु भए पनि दलहरूले पछिसम्म वैधानिक मान्यता प्राप्त गर्न सकेका थिएनन् । २००७ सालपछि मात्र दलहरुले खुल्ला गतिविधि गर्न पाए । कालान्तरमा दलहरु विभाजन हुदै, गठन र विघटन हुदै हालसम्म निर्वाचन आयोगमा एक सय भन्दा बढी राजनीतिक दलहरु अस्तित्वमा छन् ।

२००७ सालको क्रान्ति

राणाहरुको निरंकुश जहानियाँ शासन समाप्त गरी नेपालमा प्रजातन्त्रको उदय गराउने काम २००७ सालको राजनीतिक क्रान्तिबाट सम्भव भएको हो । १०४ बर्षको राणा शासन हटाउनका लागि राजनीतिक दलहरुले भूमिका खेले । तत्कालिन राजा त्रिभूवन, काग्रेस र कम्यूनिष्ट पार्टीहरुको संगठित प्रयासमा नेपालमा २००७ सालको क्रान्ति सम्भव भएको थियो । तत्कालिन नेपाली कांग्रेसको २००७ साल असोज ७ र ८ गते भारतको बैरगनीयामा भएको सम्मेलनले राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सशस्त्र संघर्ष गर्ने निर्णय गरको थियो । उक्त निर्णय अनुसार मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले २००७ साल कात्र्तिक २५ गतेबाट सशस्त्र संघर्ष गरेको प्रसंग पनि स्मरणीय छ । एकातिर सशस्त्र संघर्ष अर्कोतर्फ भारत निर्वासनमा रहेका राजा त्रिभूवनको प्रयास यी सबै घटनाक्रमका कारण राणाहरु २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना गर्न तयार भए । नेपालमा प्रजातन्त्रको स्थापना भयो । राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापनाका क्रममा केही ऐतिहासिक घोषणा भएका थिए । जुन निम्नबमोजिम छन्ः

  • जननिर्वाचित बैधानिक सभाले गणतन्त्रात्मक विधान तर्जुमा गर्नेछ ।
  • नयाँ विधान तर्जुमा नहुन्जेलसम्म प्रशासन सञ्चालन गर्न अन्तरिम मन्त्रिमण्डल गठन गर्ने जसमा राणाको तर्फबाट ५ र नेपाली काग्रेसको तर्फबाट ५ जना सदस्य नियुक्त हुनेछन् ।
  • २००७ साल चैत २० गते भित्र सबै राजनैतिक बन्दीहरुलाई आममाफी हुनेछ र त्यस्ता राजनीतिक बन्दीहरुले आफ्नो खोसिएको सम्पत्ति फिर्ता पाउनेछन् ।

प्रजातन्त्रको स्थापना र अस्थिर राजनीतिको बीउ

२००७ सालको क्रान्ति सफल भएपछि मुलुकमा प्रजातन्त्रको स्थापना भयो । त्यो प्रजातन्त्रले नागरिकहरुलाई स्वतन्त्र बनायो । प्रजातन्त्रको वहालीपछि लागू भएको नेपालको अन्तरिम शासन विधान, २००७ ले  राजनीतिक दलहरूले वैधानिक रूपमा मान्यता प्रदान गर्यो । संबैधानिक बैद्यता पाएपछि दलहरुकै नेतृत्वमा नेपालमा शासन सञ्चालन हुन थाल्यो । तर २००७ सालदेखि २०१७ सालको प्रजातान्त्रिक शासन अवधिमा राजनीतिक अस्थिरताको बीउ रोपोयो । चुनाव नै गराउन नसक्ने गरी निरन्तर सरकारहरु फेरबदल भइरहे । सरकार फेरबदलका घटनाक्रमले प्रजातन्त्रप्रति नै वितृष्णा जगाउने खालको स्थिति बन्यो । त्यसैले क्रान्ति सफल भएपछि पनि तत्काल चुनाव हुन नसक्दा २०१५ साल सम्म पटक पटक सरकार बनाउने र ढाल्ने खालका गतिविधि भए । २०१५ फागुन ७ देखि २०१६ बैशाख सम्म  नेपालमा पहिलो पटक आम निर्वाचन भयो । उक्त आम निर्वाचनमा ९ वटा राजनीतिक दल भाग लिएका थिए । १०९ स्थानका लागि भएको चुनावमा नेपाली कांग्रेसले ७४ स्थानमा विजय हासिल गरी दुई तिहाई मत सहित बीपी कोइरालाको नेतृत्वमा सरकार गठन गर्यो । पहिलो जननिर्वाचित सरकाप्रति नागरिकहरुका अपेक्षा धेरै थिए । तर जननिर्वाचित सरकारले राम्ररी काम गर्न नपाउदै १८ महिनामा राजा महेन्द्रले अपदस्त गरी शासन सत्ता आफ्नो हातमा लिए । राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाए । दलहरुबीचको अस्थिरताको फाइदा राजाले लिए । तैपनि १८ महिनाको छोटो कार्यकालमा तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाले निम्न महत्वपूर्ण काम गरेका थिए:

  • “बिर्ता उन्मूलन ऐन २०१६” लागूगरी बिर्ताप्रथाको अन्त्य
  • “भूमिसम्बन्धि ऐन २०१६” लागू गरी जमिनदारीप्रथाको अन्त्य
  • पहिलो विश्वविद्यालयको रुपमा त्रिभूवन विश्वविद्यालयको स्थापना
  • कृषि तालिम र पशु चिकित्सालयको स्थापना
  • सुकुम्बारी समस्या समाधान गर्न झापा, मोरङ र सुनसरीमा जग्गा वितरण
  • २४ राष्ट्रसँग दौत्य सम्बन्ध स्थापना

पञ्चायतको ३० बर्ष र जनमतसंग्रह

२०१७ साल पुष १ गते तत्कालिन राजा महेन्द्रले बीपी कोइरालाको सरकारलाई अपदस्त गरी शासन सत्ता हातमा लिए । त्यसपछि नेपालमा ३० बर्ष निरंकुश पञ्चायती शासन चल्यो ।  राजाको प्रत्यक्ष शासन हुने यो व्यवस्थामा राजनीतिक दलहरु प्रतिबन्ध भए । नागरिक अधिकारहरु कुण्ठित भए । पञ्चायती व्यवस्थाका हिमायतीहरुका लागि उर्वर समय भयो, अरुका लागि निकै कष्टकर । ३० बर्षको यो शासनकालमा नागरिक स्वतन्त्रता थिएन । तर बाटोघाटो लगायतका आधुनिक विकास जगहरु हाल्ने काम भने भयो ।  तर एकपटक प्रजातन्त्रको स्वाद चाखिसकेका जनताहरु पञ्चायती निरंकुश शासनबाट सन्तुष्ट थिएनन् । त्यसैले  प्रतिबन्ध रहेका नेपाली काग्रेस र  नेपाल कम्यूनिष्ट पार्टीका घटकहरुले क्रमश पञ्चायतविरुद्ध भूमिगत आन्दोलन गरिरहे । यही आन्दोलनको झिल्को बल्दै जाँदा २०३६ सालमा पञ्चायत व्यवस्थाको पक्ष र विपक्षमा जनमत लिन जनमतसंग्रह भयो । उक्त जनमतसंग्रहमा समसामयिक सुधारसहितको पञ्चायत व्यवस्थालाई नै अबलम्बन गर्ने वा बहुदलीय शासन व्यवस्थालाई सुत्रपात गर्ने भन्ने दुईटा विकल्पमाथि जनताको मत लिइएको थियो । उक्त मतदानमा सुधारिएको पञ्चायती व्यवस्था भन्ने विकल्पको पक्षमा बहुमत पुग्यो र पञ्चायत व्यस्था नै कायम भयो । तर चुनावको गणितीय संख्याले नागरिकहरु चुप बसेनन् । दलहरुले चलाएका भूमिगत आन्दोलनमा सघाउँदै पुनः पञ्चायतको विरुद्ध जनतालाई संगठित गर्दै हिड्न थाले । फलस्वरुप २०४६ सालमा जनआन्दोलन भयो । पञ्चायती व्यवस्थाको अन्त्य भयो ।

प्रजातन्त्रको पुनस्र्थापना र बहुदलीय अभ्यास

२०४६ सालको आन्दोलन सफल भएपछि २०४७ देखि २०५९ असोज १८ सम्म नेपालमा बुदलीय प्रजातान्त्रिक व्यव्स्थाको अभ्यास भयो । तर २००७ देखि २०१५ सालकै जस्तो राजनीतिक अस्थिरताको पुनराबृत्ति भयो । २०४८, २०५१ र २०५६ सालमा तीनवटा आम निर्वाचन भए । ती आमनिर्वाचनबाट निर्वाचित दलहरुले स्थिर सरकार दिएनन् । २०४८ सालमा नेपाली काग्रेसले एकल बहुमत ल्यायो । तर आफै पार्टीभित्रको किचलोका कारण तीन बर्षमै संसद विघटन गरेर मध्यवधिमा जाने निर्णय लियो । २०५१ पछि देखि २०५६ सालको अवधिमा त पटकपटक गठबन्धन सरकार बन्ने अभ्यास भए । यही बीचमा २०५२ सालमा तत्कालिन माओवादीले संसदीय प्रजातान्त्रिक व्यस्थामाथि नै प्रश्न उठाउदै सशस्त्र युद्धको थालनी भयो । एकातिर राजनीतिक दलहरुबीच सत्ताको खिचातानी, अर्कोतर्फ व्यवस्थामाथि नै प्रश्न  उठाउदै सुरुभएको सशस्त्र आन्दोलन यी दुईखाले घटनाक्रमले प्रजातान्त्रिक व्यस्थाका मुल्य मान्यताहरमा धमिरा लाग्दै गए । दलहरुप्रतिको विश्वासको धरातल कमजोर हुदै गयो । माओवादी आन्दोलन दबाउने कि शान्तिपूर्ण रुपमा वार्ता मार्फत् समस्याको समाधान गर्ने भन्नेमा शासकीय नेतृत्वमा रहेका दलहरुभित्र विवाद हुन थाल्यो । त्यसकै परिणाम स्वरुप २०५९ असोज १८ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रतिगामी कदम चाले र पछि २०६१ माघ १९ बाट प्रत्यक्ष आफैले शासन सञ्चालन गर्न थाले । यो अवधिमा राजनीतिक दलहरुले प्रजातन्त्रका मर्यादामा आँच पुर्याउने काम गरे, सुशासन र विकास भन्दा भ्रष्टाचार र राजनीतिक तिकडममा बढ्ता समय गुजारे । यद्यपी धेरै नागरिकहरु भने शिक्षित र सचेत हुने मात्रा चाही बढ्यो ।

जनआन्दोलन, संविधान सभा र संघीय गणतन्त्रको अभ्यास

२०६२/०६३ सालमा राजतन्त्र हटाउनका लागि दोस्रो जनआन्दोलन भयो । तत्कालिन राजा ज्ञानेन्द्रको निरंकुशशासनविरुद्ध सशस्त्र संघर्ष गरिरहेको माओवादी र खुल्ला राजनीति गरेको दलहरु दुबैले सहकार्य गरे । २०६२ साल मंसिर ७ मा दिल्लीमा १२ बुँदे समझदारी गरे । त्यही समझदारीको बलमा उठेको जनआन्दोनलको सफलताले नेपालले राजतन्त्रबाट गणतन्त्रको यात्रामा जाने अवसर सिर्जना गर्यो ।  जनआदोलनको सफलतापछि भूमिगत राजनीति गर्दै आएको माओवादी शान्तिपूर्ण राजनीतिक मुलधारमा आयो । २०६४ सालमा संविधान सभाबाट संविधान बनाउने प्रयोजनका लागि संविधान सभाको पहिलो चुनाव भयो । संविधान सभाको पहिलो चुनावमा भूमिगत राजनीतिक गर्दै आएको माओवादीले अत्यधिक सिटमा विजय हासिल गर्यो । तर आफ्नो विजयलाई राम्ररी सम्हाल्न नसक्दा फेरी विगतकै सत्ता राजनीतिको जोडघटाउमा संविधान सभा पनि रुमल्लिन पुग्यो । सुरुमा दुई बर्षका लागि गठन भएको संविधान सभा समय थप्दै बढाउदै लैजादा ५ बर्ष सम्म पनि संविधान जारी गर्न नसकेर विघटन भयो । त्यसले फेरी विगतकै जस्तो राजनीतिक सून्यताको अवस्था आयो । सरकारै बन्न नसक्ने र फेरी चुनावै नहुने अवस्था सिर्जना भएपछि सर्बोच्च अदातलका प्रधानन्यायाधिसलाई चुनावी सरकारको नेतृत्व दिने नौलो अभ्यास पनि गणतान्त्रिक शासन कालमा भयो । २०६५ जेठ १५ मै गणतन्त्र घोषणा भएपछि राजतन्त्रको विदाई भएको थियो । तर गणतन्त्रका प्रतीकको रुपमा रहेका राष्ट्रपति जस्तो संस्था पनि यो बीचमा पटक विवादमा आयो । २०७० सालमा पुनः दोस्रो संविधान सभाको चुनाव भयो । उक्त चुनावमा विगतको संविधान सभाको भन्दा फरक खालको राजनीतिक उपस्थिति थियो । त्यसपछि २०७२ असोज ३ मा संविधानसभाबाट नया संविधान जारी भयो ।  जनताबाट निर्वाचित प्रतिनिधिहरुबाट संविधान जारी गर्ने २००७ सालदेखिको सपना थियो । त्यो सपना ७० बर्षपछि पुरा भयो । यो संविधाको मुल बिषेशता भनेको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र हो । त्यसैले संविधान जारी भएपछि त्यसको कार्यान्वयनका लागि २०७४ सालमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनवटै तहका चुनाव भए । यो चुनावमा एमाले र माओवादी केन्द्र दुईटा पार्टीको गठबन्धनलाई जनताले बहुमत दिएर शासन सञ्चालन गर्ने अधिकार दिए । सातवटा प्रदेशहरुमा प्रादेशिक शासनको औपचारिक अभ्यास भयो । तर २००७ सालदेखि नै सुरुभएको सत्ता राजनीतिको छिनाझपटी गणतन्त्रकालमा आइपुग्दा पनि साम्य भएन । अहिले पनि राजनीतिक दलहरु जिम्मेवार बनेका छैनन् । राजनीतिक झगडाले गर्दा नागरिकहरु वाक्क दिक्क भएका छन् । पुराना राजनीतिक दल र तीनका नेताहरुका क्रियाकलापले वाक्क भएका जनता बेलाबखत विकल्पको खोजीमा लाग्छन् । तर पनि भरपर्दो विकल्प तयार नहुदा उही पुरानै दल र नेताहरुकै मुख ताक्न बाध्यछन् ।

मुख्य राजनीतिक घटनाक्रम / कहिले के भयो ?

  • २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य  यो र प्रजातान्त्रिक युगको थालनी भयो ।
  • २००७ साल फागुन १७ गते आन्तरिक शासन विधान २००७ घोषणा ।
  • २००८ साल फागुन २६ गते प्रधानमन्त्री मोहन शम्सेरद्धार प्रधानमन्त्री पदबाट राजीनामा ।
  • २००८ साल मंसिर १ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा १४ सदस्यि मन्त्रीपरिषदको गठन
  • २०१२ साल असोज २२ गते पञ्चवर्षिय योजनाको घोषणा ।
  • २०१६ सालमा बिपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकारको गठन २२ सदस्यिय मन्त्रीपरिषद् ।
  • ०१७ साल पुस १ गते तात्कालिन राजा महेन्द्रद्धारा पञ्चायती व्यवस्थाको सुरुवाता
  • २०१९ साल पुस १ गते पञ्चायती व्यवस्थामा आधारित संविधानको घोषणा
  • २०३७ साल वैशाख २० गते नेपालमा बुदलिय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्नेमा जनमत संग्रह ।
  • २०४६ साल फागुन ७ देखि चैत्र २६ सम्म जनआन्दोलन ।
  • २०४६ साल चैत्र २६ गते राजा वीरेन्द्रद्वारा नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सहाना प्रधान र राधाकृष्ण मैनालीलाई सहमतिको लागि बोलावट । सोहि दिन भएको सहमतिमा निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुर्नबहाली ।
  • २०४७ साल जेठ १६ गते कृणप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन, सोहि सरकारद्वारा नया संविधानको खाका तयार ।
  • २०४७ साल कार्तिक २३ गते नयाँ संविधानको घोषणा ।
  • २०४८ साल जेठ १२ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नया सरकारको घोषणा । २०४८ सालमा नेपालमा दोस्रो ऐतिहासिक निर्वाचन कांग्रेसलाई बहुमत ।
  • २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा मध्यावधि निर्वाचनको घोषणा । कुनै पार्टीले बहुमत प्राप्त गर्न सकेनन् ।
  • २०५१ सालमा नेकपा एमालेका नेता मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको नौमहिने सरकार ।
  • २०५२ साल फागुन १ गते माओवादी नेतृत्वमो जनयुद्ध सुरु ।
  • २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डपछि राजा वीरेन्द्रको बंश नाश । ज्ञानेन्द्र शाह नयाँ राजा ।
  • २०५९ साल असोज १८ गते तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषित गर्दै तात्कालिन सरकार अपदस्त गरी राजनीतिक नेताहरुलाई नजरबन्दमा राख्ने प्रयास ।
  • २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रद्वारा कू । सरकार अपदस्त र
  • २०६२ साल मंसिर ५ गते नेपालका प्रमुख ५ राजनीतिक दल र तात्कालिन विद्रोही माओवादीबीच भारतको नयाँदिल्लीमा १२ बुँदे सहमति ।
  • २०६२ साल चैत्र २४ देखि २०६३ साल वैशाख ११ गते सम्म दोस्रो जनआन्दोलन । राजा ज्ञानेन्द्रद्वारा सार्वभौमसत्ता जनतामा रहेको घोषणा । संसद पुर्नस्थापना । राजाको सम्पत्ति राष्ट्रियकरण । मुलुक संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ।
  • २०६३ साल असार २ गते प्रमुख सात राजनैतिक दल र तात्कालिन विद्रोही माओवादीबीच आठ बुँदे सम्झौता ।
  • २०६३ मंसिर ५ मा बृहत शान्ति सम्झौता १० वर्षे जनयुद्धको विधिवत अन्त्य भएको घोषणा ।
  • २०६३ साल माघ १ गते अन्तरिम संविधानको घोषणा ।
  • २०६४ साल चैत्र २८ गते नेपालमा पहिलो संविधानसभाको निर्वाचन । २०६५ साल जेठ १५ गते संविधानसभाद्वारा नेपालमा लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा । जेठ २१ मा राजा ज्ञानेन्द्रद्वारा सत्ता त्यागको घोषणा ।
  • २०७० साल मंसिर ७ मा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न । २०७२ साल वैशाख १२ गते नेपालमा महाभूकम्प र त्यसबाट ठूलो धनजनको क्षति ।
  • २०७२ साल असोज ३ गते राष्ट्रपति रामबरण यादवद्वारा नयाँ संविधानको घोषणा । त्यो संगै भारतद्वारा ५ महिना लामो नाकाबन्दी ।
  • २०७४ साल मंसिर प्रतिनिधिसभा र प्रदेश सभा चुनाव
  • २०७७ पुस १ केपी ओलीद्धारा प्रतिनिधि सभा भंग
  • २०७७ फागुन २३ प्रतिनिधि सभा पुनःस्थापना
  • २०७८ बैशाख २७ केपीओली नेतृत्वको बुहमतको सरकार अल्पमतमा
  • २०७८ बैशाख ३१ केपी ओली फेरी अल्पमतको प्रधानमन्त्री नियुक्त
273 views