हिमपातका कारण युरोप गम्भीर प्रभावित, जनजीवन अस्तव्यस्त

Yangle News
Yangle News
२०८२ पुस २४ गते
हिमपातका कारण युरोप गम्भीर प्रभावित, जनजीवन अस्तव्यस्त

हिउँ, बरफ र चिसो तापक्रमका कारण युरोपका विभिन्न देश गम्भीर रूपमा प्रभावित भएका छन् । सडक, रेल र हवाई यातायात अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । खराब मौसमले फ्रान्सका कारण कम्तीमा पाँच जनाको ज्यान लिएको छ ।

बोस्नियाको राजधानी साराजेभोमा एक महिलाको मृत्यु भएको छ । युरोपभर सयौं उडान रद्द भएका छन् । उत्तर र पश्चिम फ्रान्सका छ वटा विमानस्थल बन्द गरिएका छन् । नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डमको सिफोल विमानस्थलले करिब ४०० उडान ग्राउन्डेड भएको जनाएको छ । थप हिमपातको पूर्वानुमानसँगै रेल सेवा पनि प्रभावित बनेको छ ।

राष्ट्रिय रेलवे कम्पनी एनएसले सीमित सेवा मात्र सञ्चालन भएको र अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ । इटालीको रोममा भने निरन्तर वर्षाले समस्या निम्त्याएको छ । पार्क र जोखिमयुक्त क्षेत्रहरूमा सार्वजनिक पहुँच सीमित गर्न आदेश जारी गरिएको छ । हिउँले ढाकिएका क्षेत्रहरुमा स्कियरहरूका लागि भने अनुकूल अवस्था बनेको छ ।

बेलायतको उत्तरी भागमा चिसो अत्यधिक बढेको छ । रातको तापक्रम माइनस १२ दशमलव ५ डिग्री सेल्सियससम्म झरेको छ । हिउँ र बरफका कारण रेल, सडक र हवाई सेवा प्रभावित हुँदा सयौं विद्यालय बन्द गरिएका छन् । खेलकुद कार्यक्रमहरू रद्द भएका छन् भने ग्लासगोको सबवे र लिभरपुलको जोन लेनन विमानस्थल केही समयका लागि बन्द गर्नुपरेको थियो । उत्तर स्कटल्यान्डमा थप १५ सेन्टिमिटरसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको छ । अवस्था गम्भीर बनेकाले सेना परिचालन गरेर राहत र आपूर्ति पुर्‍याउन सांसदहरुले आग्रह गरेका छन् ।

बाल्कन क्षेत्रमा पनि मौसम खराब रहेको छ । बोस्निया, सर्बिया र आसपासका देशहरूमा भारी हिउँ र वर्षाका कारण नदीहरू बढेका छन्, यातायात अवरुद्ध भएको छ र विद्युत् तथा पानी आपूर्तिमा समस्या आएको छ । सर्बियाका केही नगरपालिकामा आपतकालीन अवस्था घोषणा गरिएको छ र अधिकारीहरूले यात्रामा अत्यन्त सावधानी अपनाउन आग्रह गरेका छन् ।

एड्रियाटिक तटमा भने तीव्र हावा र आँधीबेहरीले क्षति पुर्‍याएको छ । क्रोएसिया र मोन्टेनेग्रोका तटीय क्षेत्रमा समुद्री छाल समुद्र किनारका संरचनासम्म पसेका छन् ।

Yangle News