नयाँ दिल्ली । नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु भएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनपछि भारतको अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्नेछ । अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित भारतीय रेलका उच्च अधिकारीहरूले रेललाई बिदाइ गर्ने कार्यक्रम रहेको छ ।
नयाँ रेल सेवासँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् । यसले दुई देशबीचको धार्मिक पर्यटन, तीर्थयात्रा तथा सीमापार आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
भारतीय रेलवे विभागले जनकपुरधाम र उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिएको थियो । करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ ।
निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्या क्यान्ट पुग्नेछ । त्यस्तै, प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्या क्यान्टबाट छुट्ने रेल जनकपुरधाम आइपुग्नेछ ।
रेलले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रोकिनेछ ।
यस रेल सेवाको सञ्चालनसँगै सुरक्षा व्यवस्थापनको विषय पनि महत्त्वपूर्ण बनेको छ । भारतीय रेल नेपाली भूमिमा सञ्चालन हुँदा सुरक्षा जिम्मेवारी कसले लिने भन्ने विषयमा नेपाल र भारतबीच यसअघि लामो समय छलफल भएको थियो ।
नेपालले आफ्नो भूमिमा नेपाली सुरक्षाकर्मी परिचालन हुनुपर्ने धारणा राखेको थियो भने भारतले भारतीय रेल भएकाले रेल सञ्चालन हुने क्षेत्रमा आफ्नै सुरक्षाकर्मी रहने प्रस्ताव गरेको थियो ।
नयाँ रेल सेवाले जनकपुरधाम र अयोध्याबीचको धार्मिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशबीच पर्यटन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।