काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा प्रकाशशरण महतले पार्टीको १५ औँ अधिवेशन गराएर शेर बहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसंगको छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४ औँ अधिवेशन सम्पन्न भई निर्वाचित भएको र १५ औँ अधिवेशन गराएर उहाँले नै नेतृत्व हस्तान्तरण गर्ने उल्लेख गर्नुभयो । आफुहरुको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि बढिरहेको उहाले बताउनुभयो ।
नेता महतले प्रतिकूल अवस्था र अनेकौँ दबाबका बाबजुद पनि पार्टीका नेता तथा कार्यकर्ता आफैँ खर्च गरेर, कुनै तामझाम बिना देशैभरिका जिल्ला तथा वडा तहमा स्वतःस्फूर्त रूपमा जुटिरहेको दावी गर्नुभयो । विशेष अधिवेशन भनेर पार्टीलाई बिथोल्ने कोसिस गलत भएको र यसको विरुद्धमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू उभिएको उहाले बताउनुभयो ।
उहाँले पार्टीको मूल आदर्श, मूल्य र मान्यतालाई जोगाउन न्यायको पक्षमा उभिएको र अदालतबाट पनि न्याय पाइनेमा पूर्ण विश्वास रहेको धारणा राख्नुभयो । भ्रममा परेर अर्को अधिवेशनमा सहभागी भएका नेता तथा कार्यकताहरु पनि गल्ती महसुस गरी वडा तहदेखि नै पुनः आधिकारिक प्रक्रिया र अभियानमा जोडिन थालेको उहाँको भनाई छ ।