शुक्रबारबाट सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपाल भारतसँग स्तब्ध बनेको छ । पहिलो सेट २५-२१ ले जिते पनि नेपालले दोस्रो र तेस्रो सेट भारतलाई सुम्पिन पुगेको थियो । दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१९ ले पछि परेको थियो ।
चौथो सेटमा नेपालले बलियो कमब्याक गर्यो र सेट २५-२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । तर, निर्णायक पाँचौं सेटमा भने नेपाल सुरुदेखि नै पछि पर्यो र १५-९ ले गुमाउन पुग्यो । राखेप कभर्ड हलमा खचाखच भरिएका दर्शकहरू हारपछि निराश देखिएका थिए । सो खेल हेर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि कवर्ड हलमा उपस्थित थिए ।
नेपालको चिरप्रतिद्वन्द्वी भारतसँग पाँचौं सेटमा गएर पराजित हुन परेको यो पाँचौँपटक हो । हारपछि प्रशिक्षक जगदीश भट्टले भने, ‘युवा खेलाडीहरूले राम्रो खेलेका हुन् । तर, ससाना कुराहरूमा खेलाडीहरू चुक्न पुगे । हामी त्यसलाई आगामी खेलमा सुधार्नेछौँ । हामी चाहन्छौं फाइनलमा भारतसँग भेट होस् ।’
प्रतिस्पर्धात्मक खेलमा भारतसँग हार बेहोरेपछि कप्तान निरुता ठगुन्नाले आफ्नो पीडा रोक्न सकिनन् । खेलपछिको पोस्ट म्याच प्रेस कन्फ्रेन्समा सोधिएको प्रश्नमा उनले आँसु झार्दै भनिन्, ‘युवा खेलाडीहरूको प्रदर्शन राम्रो भयो, मैले चाहिँ खेल्न सकिनँ ।’
दुई सेट जितेपछि नेपालले एक अंक बटुलेको छ । राष्ट्रिय टोलीका पुराना खेलाडीहरू विदेसिएपछि आज एकैसाथ पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । मिना सुनार, सुनिता खत्री, सलिना बुढामगर, बसन्ती साउद र जसना महतोले पहिलोपटक राष्ट्रिय जर्सी लगाएर खेले । नेपालले अब शनिबार साँझ ५ बजे किर्गिस्तानसँग लिगको दोस्रो खेल खेल्नेछ ।
आजै भएको पहिलो खेलमा इरानले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
आठ राष्ट्र सहभागी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको समूह ए मा भारत, किर्गिस्तान र माल्दिभ्स छ । समूह बी मा काजकिस्तान, इरान श्रीलंका र बंगलादेश रहेका छन् । चारमध्ये शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।