नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय सार्न अनुरोध

Yangle News
Yangle News
२०८३ जेष्ठ ८ गते
नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय सार्न अनुरोध

सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी)को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय तीन वर्ष पछाडि सार्ने संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी)समक्ष औपचारिक पत्र पठाएको हो ।

यसअघि नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने तय भएको थियो । तर, पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक-राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले उक्त स्तरोन्नतिलाई सन् २०२९ नोभेम्बरसम्म स्थगित गर्न भनेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाललाई एलडीसीबाट स्तरोन्नति गर्ने समय आगामी नोभेम्बर २०२९ सम्मका लागि सार्न पत्राचार गरिएको बताए ।

परराष्ट्रमन्त्री शिषिर खनालले सन् २०२६ मे १३ मा संयुक्त राष्ट्रसंघअन्तर्गतको सीडीपीका अध्यक्षलाई पत्र पठाएर स्तरोन्नति तत्कालका लागि रोक्न औपचारिक पत्राचार गरेका हुन् । सरकारले स्तरोन्नति पछाडि सार्नुपर्ने पाँच प्रमुख कारण प्रस्तुत गरेको छ । क्षेत्रीय द्वन्द्व तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधले नेपालको अर्थतन्त्र प्रभावित भएको परराष्ट्रले जनाएको छ । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको अवस्थालाई पनि सरकारको प्रमुख आधार बनाएको छ । त्यस्तै, एलडीसीबाट स्तरोन्नति भएपछि नेपालले हाल पाइरहेको ड्युटी-फ्री तथा कोटा-फ्री (डीएफक्यूएफ) बजार पहुँचलगायतका सुविधा गुम्ने जोखिम रहेको र त्यसले उत्पादनशील क्षेत्रमा रोजगारी ३५ प्रतिशतसम्म घट्न सक्ने आँकलन गरिएको उल्लेख छ ।

सरकारले दिगो संक्रमण रणनीति (स्मुथ ट्रान्जिसन स्ट्राटेजी) अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको अवस्थालाई पनि अर्को कारणका रूपमा अघि सारेको छ । मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमले नेपालको वैदेशिक मुद्रा सञ्चितिको मुख्य आधार रेमिट्यान्समा असर परेको तथा इन्धन, खाद्यवस्तु र मलखादको मूल्यवृद्धिले पर्यटन उद्योगसहित समग्र राष्ट्रिय अर्थतन्त्र प्रभावित भएको सरकारको निष्कर्ष छ । कोभिड-१९ महामारीपछिको आर्थिक पुनरुत्थान अझै स्थिर हुन नसकेको, भूराजनीतिक तनाव तथा जलवायु परिवर्तनका असरले सुधारोन्मुख अर्थतन्त्रमा थप चुनौती सिर्जना गरेको सरकारको भनाइ छ ।