नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीको आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) विश्व वरीयतामा व्यापक सुधार भएको छ ।
बुधबार आईसीसीले ओडीआईतर्फ अद्यावधिक गरेको बलिङ वरीयतामा सन्दीपको १५ स्थान सुधार भएको हो भने अलराउन्डरमा दीपेन्द्र १२ स्थानमाथि उक्लिएका छन् ।
यी दुवैले हालै काठमाडौंमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत सम्पन्न यूएई र ओमान सम्मिलित एकदिवसीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त वरीयता क्रमअनुसार, सन्दीप ५८औं स्थानबाट ४३औं स्थानमा उक्लिए । त्यसैगरी, ४३औं स्थानमा रहेका दीपेन्द्र १२ स्थानमाथि उक्लिँदै ३१औं स्थानमा पुगे ।
सन्दीपले श्रृंखलामा भएका चार खेलमा निकै किफायती बलिङ गर्दै कुल आठ विकेट लिएका थिए । त्यसैगरी, दीपेन्द्र घरेलु टोलीको सबैभन्दा भरपर्दो ब्याटर बने । उनले चार खेलमा दुई अर्धशतक र एक शतक प्रहार गरे भने चार विकेट पनि लिन सफल भए । उनले यूएई विरुद्धको पहिलो खेलमा ७५ रन, दोस्रो खेलमा ओमान विरुद्ध ६० रन र दुई विकेट लिएका थिए ।
त्यसैगरी, यूएईसँगको दोस्रो खेलमा १०० रन बनाउँदा ओमानसँगको दोस्रो खेलमा ३३ रन बनाएर एक विकेट आफ्नो नाममा ल्याएका थिए । श्रृंखलामा नेपालले यूएई र ओमानविरुद्ध समान दुई खेल खेलेको थियो । यी दुई खेलाडीबाहेक अन्यको वरीयता भने सुधार हुन सकेन । ललित राजवंशी वरीयता घटुवामा पर्दै ६५औं स्थानमा झरे भने करण केसी ९०औं स्थानमा झरेका छन् ।