‘झण्डै दुईतिहाइको सरकार हुनु विकासका लागि अभूतपूर्व अवसर हो’

Yangle News
Yangle News
२०८३ बैशाख २१ गते
‘झण्डै दुईतिहाइको सरकार हुनु विकासका लागि अभूतपूर्व अवसर हो’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । सरकारले निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति पारित गरी तत्काल लागु गर्ने निर्णय गरेकोमा उनले आभार व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारणसभामा अध्यक्ष ढकालले यो रणनीतिले उद्यमी र व्यवसायीहरूका लागि भौतिक सुरक्षाका साथै नीतिगत सुरक्षाको प्रत्याभूति गर्ने विश्वास गरे । महासंघकै आग्रहमा गठित उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझावका आधारमा केही कानुनहरू खारेजीको प्रक्रियामा गइसकेको र यसले दोस्रो चरणको आर्थिक सुधारको मार्गचित्र तयार गर्ने उनले बताए ।

अध्यक्ष ढकालले महासंघको ६० वर्षको यात्रा मुलुकको आर्थिक इतिहासमा दृढ संकल्प र साझेदारीको परिणाम भएको बताए । यो संस्था निजी क्षेत्रको सशक्त आवाज र उद्योग, व्यापार एवं लगानीको वातावरण सिर्जना गर्ने अगुवाका रूपमा उभिएको उनको भनाइ छ ।

अध्यक्ष ढकालले नयाँ सरकारले महासंघको आग्रहबमोजिम ‘निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति’ (पीएसपीपी) पारित गरेकोमा खुसी व्यक्त गरे । यो रणनीतिले निजी उद्यम र व्यवसायीलाई भौतिक एवं नीतिगत सुरक्षाको ग्यारेन्टी गर्ने उनले बताए । यस्तै, दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्ने क्रममा केही कानुन खारेज गर्ने सरकारको निर्णयलाई उनले सकारात्मक कदमका रूपमा लिए ।

मुलुकको विद्यमान आर्थिक अवस्थाबारे चर्चा गर्दै ढकालले नेपालमा अहिले राजनीतिक स्थायित्व र झण्डै दुईतिहाइको सरकार हुनु विकासका लागि अभूतपूर्व अवसर भएको बताए । छिमेकी देश भारत र चीनको ठूलो बजार र नेपालको युवा जनशक्ति (मिडियन उमेर २५ वर्ष)लाई आर्थिक प्रगतिका लागि मुख्य आधारका रूपमा प्रस्तुत गरे ।

यद्यपि, वार्षिक ७ लाख युवा वैदेशिक रोजगारीमा जानु र स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्नु मुख्य चुनौती रहेको उनले बताए । सन् १९६० को दशकमा दक्षिण कोरिया र नेपालको आर्थिक अवस्था उस्तै रहे पनि अहिले कोरिया निकै अगाडि बढेको तुलना गर्दै उनले नेपालमा सोचेअनुरूप प्रगति हुन नसकेको स्वीकार गरे ।

लगानी र सुशासन स्वदेशी पुँजी परिचालन गर्न महासंघकै अग्रसरतामा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना भई काम सुरु भइसकेको ढकालले बताए । यसले नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्यलाई चिर्न मद्दत गर्ने उनको दाबी छ । वैदेशिक लगानी (एफडीआई) भित्र्याउन सुशासन अनिवार्य सर्त भएको र त्यसका लागि प्रविधिको उच्चतम प्रयोगमार्फत नागरिक एपबाटै व्यवसाय दर्ता गर्ने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष ढकालले अब निजी क्षेत्रले आर्थिक सुधारको नेतृत्व गर्नुपर्ने र स्रोतका लागि सरकारको मुख ताक्ने प्रवृत्ति कम गर्नुपर्ने विचार राखे । “निजी क्षेत्रको सम्मान समृद्धिको आधार” भन्ने नारालाई सबैतिर विस्तार गर्नुपर्ने र व्यवसायीहरू उपभोक्ता एवं सरोकारवालाप्रति जिम्मेवार हुनुपर्ने उनले बताए । कोरोना महामारी र भूकम्प जस्ता कठिन समयमा पनि निजी क्षेत्रले धैर्यता देखाएको स्मरण गर्दै उनले आगामी दिनमा नेपालको अर्थतन्त्र थप सबल र सुधारोन्मुख हुने विश्वास व्यक्त गरे ।