कांग्रेस विवाद : गगन थापाको पक्षमा सर्वोच्चको फैसला, देउवाको रिट खारेज

Yangle News
Yangle News
२०८३ बैशाख ४ गते
कांग्रेस विवाद : गगन थापाको पक्षमा सर्वोच्चको फैसला, देउवाको रिट खारेज

नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको पक्षमा निर्णय दिएको हो ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए । सर्वोच्चले देउवा र खड्काले दायर गरेको रिट खारेज गरिदिएको छ ।

संविधान, कानुन र नेपाली कांग्रेसका विधानविपरीत निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको दाबी रिटमा गरिएको थियो । उक्त रिटमा सुनुवाई सकिएपछि सर्वोच्चबाट निर्णय आएको हो । यो निर्णयपछि सभापति गगनलाई सभापतिको हैसियतमा काम गर्न थप सहज भएको छ ।

आफूलाई कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापतिकै हैसियतमा रहेको भन्दै देउवाले विशेष महाधिवेशनलाई नै अवैध भनेका थिए । सर्वोच्चले देउवा र खड्काको दाबी खारेज गर्दै थापा नेतृत्वमा रहेको नेपाली कांग्रेस र आधिकारिकता दिने गरी निर्वाचन आयोगबाट भएको निर्णयलाई वैधता दिएको छ ।