नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक चैत १७ गते मंगलबार धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बस्नेगरी बोलाइएको हो ।
बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । यस्तै, कार्यबाहक सभापति खड्काले जिल्ला सभापतिहरूको भेला पनि बोलाएका छन् ।
खड्काले गत पुसमा विशेष महाधिवेशनको पक्षमा नआएका पूर्वसभापति शेरबहादुर देउवा पक्षका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै यही चैत १९ गतेका लागि जिल्ला सभापतिहरुको भेला बोलाएका हुन् । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला बोलाएका हुन् । भेलामा समसामयिक राजनीतिक विषयमा छलफल पनि हुने बताइएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले खड्काको अगुवाइमा पार्टीभित्र समानन्तर गतिविधि अगाडि बढाएका हुन् । खड्का र नेता कोइरालाको उपस्थितिमा आज नवनिर्वाचित सांसदका लागि बधाई कार्यक्रम राखिएको छ ।
यसैबीच, संस्थापन पक्षको अनुशासन समितिको बैठक मंगलबार बस्दैछ । बैठकले समानान्तर गतिविधिमा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाउने अनुमान गरिएको छ ।