पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पक्राउ परेका छन् । उनीहरू आज बिहानै आफ्नै निवासबाट पक्राउ परेका हुन् ।
रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै पूर्वप्रधानमन्त्री ओली पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।
ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेलगत्तै दोषी ठहर गरेलगत्तै ओलीलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको हो । मन्त्रिपरिषद्को निर्णय र अत्यन्त जरुरी पक्राउ पुर्जी बोकेर प्रहरी पुगेको थियो ।
त्यसैगरी, लेखकलाई पक्राउ गर्न पनि मन्त्रिपरिषदको निर्णय र कागजातसहित प्रहरी राति नै उनको निवासमा पुगेको थियो । प्रहरीले पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरिएको कारण एउटै खुलाएको छ । प्रहरीले जिल्ला सरकारी वकीलसँग समन्वयमा ओली र लेखकलाई पक्राउ पुर्जी थमाएको थियो । प्रहरीले दुबैजनालाई ‘ज्यानसम्बन्धी कसूर’ समेतको मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गरेको पक्राउ पुर्जीमा खुलाएको छ ।
यसैबीच, ओली पक्राउको विरोधमा एमालेले विरोध र्याली निकाल्न सुरु गरेको छ । काठमाडौंको चाबहिल चोकबाट एमालेले विरोध प्रदर्शन सुरु गरेको हो । त्यस्तै, ओलीको प्रक्राउबारे पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।