सञ्चारमन्त्री खरेलले दिए राजीनामा

Yangle News
Yangle News
२०८२ माघ ५ गते
सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।

‘वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्ष्यमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय भएको निष्कर्षमा म पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु। यो राजीनामा स्वीकार गरिदिनुहुन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष सविनय अनुरोध गर्दछु,’ खरेलले राजीनामा पत्रमा भनेका छन् । उनले आफू ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारीमा रहेको बताए ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन लड्ने इच्छा राख्ने मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी थिइनं । सोही क्रममा ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिइसकेका छन् ।