सूर्य नेपाल गल्फ टुर : राहुल विश्वकर्मालाई एमेच्योर र प्रो. दुवै तर्फको उपाधि

Yangle News
Yangle News
२०८२ पुस १७ गते
सूर्य नेपाल गल्फ टुर : राहुल विश्वकर्मालाई एमेच्योर र प्रो. दुवै तर्फको उपाधि

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गरेका छन् ।

सूर्य नेपाल गल्फ टुर २०२५-२६ को आठ प्रतियोगितामध्ये सूर्य नेपाल सेन्ट्रल ओपन पहिलो प्रतिष्पर्धा हो । सिजनको पहिलो प्रतियोगिता राहुलले चार दिन नै अग्रता लिँदै उपाधि रक्षा गरेका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी प्रोफेसनल गल्फर जयराम श्रेष्ठमाथि १४ स्ट्रोकको अग्रतासहित करियरको तेस्रो उपाधि उचाले । राहुलले अन्तिम दिन चार अन्डर ६८ को कार्डमा खेले । जुन उपाधि जित्नका लागि पर्याप्त बन्यो । जयरामले पाँच ओभर ७७ को खराब प्रदर्शन गरेपछि राहुलका लागि सहज भयो । समग्रमा राहुल १४ अन्डर २७४ मा रहे भने जयरामले कुलमा इभन पार २८८ को कार्ड बटुले । राहुल एमेच्योर र प्रो. दुवै तर्फको ट्रफी प्राप्त गर्न सफल भए ।

दोस्रो भए पनि जयरामले च्याम्पियनको पुरस्कारबापत एक लाख ७० हजार रुपैयाँ प्राप्त गरे । राहुलले पाँच स्ट्रोकको अग्रतासहित अन्तिम दिनको सुरुआत गरेका थिए । तर, अन्तिम दिनको १८ होलमा जयरामसहित कुनै पनि खेलाडीले राहुललाई चुनौती दिन सकेनन् । फ्रन्ट नाइनमा नै राहुल उपाधिनजिक थिए । यस क्रममा उनले तीन अन्डर ३३ प्रदर्शन गरे । ब्याक नाइन भने उनले एक अन्डर ३५ मा पूरा गरे । प्रोतर्फ च्याम्पियन जयरामले फ्रन्ट नाइन इभन-पार ३६ मा पूरा गरे । तर, ब्याक नाइनमा भने उनले बिर्सनलायक प्रदर्शन गरे । यस क्रममा उनले दशौं र १२औं होलका१४ देखि १६ सम्म लगातार गरी कुल ५ बोगी खेपे । यो खराब प्रदर्शनमा ब्याक नाइन पाँच ओभर ४१ मा सकाए ।

यससँगै ट्रफी जित्न राहुलका लागि सहज बनेको हो । दुई गल्फर तोरणविक्रम शाही र भुवन नगरकोटी संयुक्त रूपमा तेस्रो स्थानमा रहे । दुवैले समग्रमा दुई ओभर २ सय ९० को स्कोरको कार्ड बटुले । भुवनले चार अन्डर ६८ मा रहेर चौथो दिनको खेल सकाएपछि तेस्रो स्थान प्राप्त गरेका हुन् । तोरणले इभन पार ७२ मा रहे । यी दुवैले एक लाख १२ हजार पाँच सय रुपैयाँ पाए । नेपाल नम्बर एक प्रो नीरज तामाङको प्रदर्शन सन्तोषजनक रहेन । उनी पाँचौं स्थानमा सीमित भए र ८२ हजार रुपैयाँ पाए । नीरज समग्रमा तीन ओभर २९१ को स्कोरमा रहे । अन्तिम दिन तीन अन्डर ६९ मा खेल सकाएपछि नीरजले सुधार गरेका हुन् ।

चार खेलाडी भुवनकुमार रोक्का, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्त रूपमा छैटौं भए । सबैले समान ६५ हजार रुपैयाँ पाए । यी चारैले समग्रमा चार ओभर २९२ को स्कोर बटुले । एमेच्योरतर्फ रुबेन दोस्रो र साम डोब्लार्ड तेस्रो भए । साम समग्रमा दशौं स्थानमा रहे । कुल ७२ होलको यस प्रतियोगितामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कुल ६२ गल्फरले प्रतिस्पर्धा गरेका थिए । कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरेका थिए ।

Yangle News