अखिल नेपाल फूटबल संघ (एन्फा)को कार्यसमिति बैठकले ‘अर्ली इलेक्सन’मा जाने निर्णय गरेको छ । एन्फा कार्यसमितिको बुधबार बसेको बैठकले आगामी माघ २८ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभाको मिति तय गर्ने, आर्थिक वर्ष २०८२-८३ को लेखा परीक्षकको नियुक्ति गर्ने र विविध विषयमा छलफल गर्ने एजेन्डासहित एन्फाको कार्यसमिति बैठक बोलाइएको थियो ।
एन्फा बैठकमा केही सदस्यले भने पहिले जिल्ला र प्रदेश फुटबल संघको निर्वाचन गराएर मात्र केन्द्रको निर्वाचन गराउनु पर्ने धारणा राखेका थिए । तर, कार्यसमितिले बैठकले भने माघ २८ गते नै चुनावी साधारणसभा गर्ने निर्णय लियो ।
एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ साल असार ६ गते सकिँदै छ । पछिल्लो पटक एन्फाको निर्वाचन २०७९ असार ६ गते भएको थियो । उक्त निर्वाचनमा तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
विश्वकपका कारण नियमित समय असारमा चुनावी साधारणसभा गर्न समस्या हुने तर्क अध्यक्ष नेम्वाङ पक्षले गरेको थियो । आगामी फिफा विश्वकप २०८३ को जेठ २८ देखि साउन ३ गतेसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।
वर्तमान कार्यसमितिको कार्यकाल अझै ६ महिना बाँकी छ । अर्ली इलेक्सनको विपक्षमा रहेका पदाधिकारी तथा सदस्यहरुले भने निर्णयप्रति असहमति जनाएका छन् ।
विज्ञप्ति :