नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लव शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब च्याम्पियनशीपको उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । खेल बेलुकी ५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
एपिएफ र इस्ट बंगाल दुवै अपराजित रहँदै उपाधि भिडन्त तय गरेका हुन् । तुलनात्मक रूपमा एपिएफभन्दा इस्ट बंगाल बलियो देखिन्छ । यद्यपि, लिगको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरीको नजितामा चित्त बुझाएका थिए । यस च्याम्पियनसिपमा पाँच क्लव सहभागी थिए । इस्ट बंगालले नेपाली टोली एपिएफसँग प्रतिष्पर्धा गर्नुअघि तीन टोलीमाथि गोल वर्षा नै गरेको थियो । तर एपिएफसँग इस्ट बंगालको आक्रामक अग्रपंक्तिले रक्षापंक्ति पार गर्न सकेन । गोलस्कोरिङमा समस्या देखिएको एपिएफ र आक्रामक अग्रपंक्तिबीच हुने फाइनलमा रोमाञ्चक हुने अनुमान गरिएको छ ।
एपिएफका प्रशिक्षक जीवेश पाण्डेले फाइनलका लागि मानसिक र शारीरिक रूपमा आफ्नो टोली तयार रहेको बताएका छन् । उनले पछिल्लो खेलमा अंक बाँडे पनि यसपटक राम्रो खेल्ने बताए । प्रशिक्षक पाण्डेले इस्ट बंगाल पनि रहेको टोली रहेको उल्लेख गर्दै आफ्नो टोली उनीहरूभन्दा बलियो बन्ने विश्वास व्यक्त गरे । दर्शकको राम्रो साथ हुनुले आफ्नो टोलीका लागि उत्प्रेरणा मिल्ने प्रशिक्षक पाण्डे बताउँछन् ।
लामो समयदेखि देशले नै महिला फुटबलको उपाधि जित्न नसकेकोले यसपल्ट यो अवसर रहेको उनी बताउँछन् । उनले रक्षापंक्ति र अट्याकिङमा राम्रो गर्ने बताए । विपक्षीको रणनीतिअनुरूप खेल्ने प्रशिक्षक पाण्डेले बताएका छन् । टोलीमा चोटको समस्या भए पनि राम्रो खेल्ने उनको विश्वास छ । राष्ट्रिय टोलीका नै अधिकांश खेलाडी रहेकाले राम्रो नतिजा आउने उनी बताउँछन् ।
स्टार खेलाडी साबित्रा भण्डारी, प्रीति राई र सबिता रानामगरबिना खेलेको एपिएफको अट्याकिङ कमजोर देखिएको छ । चारमध्ये एपिएफले भुटानको ट्रान्सपोर्ट र इस्ट बंगालविरुद्ध गोल गर्न नै सकेन । पाएका अवसर पनि चुकाउँदा एपिएफ लिगको दोस्रो स्थानमा सीमित भएको थियो । एपिएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि आफ्नो टोली तयार र उत्साहित रहेको बताइन् । महिला फुटबललाई पनि उपाधि दिने उनको आशा छ । उनले यो च्याम्पियनसिप नेपाली महिला खेलाडीका लागि राम्रो अवसर बनेको पनि बताइन् ।
एपिएफमा अधिकांश राष्ट्रिय टोलीका सदस्य छन् । तर पनि उनीहरूको प्रदर्शन त्यति सुखद बन्न सकेको छैन । महिला साफ च्याम्पियनसिपअगाडि नेपाली खेलाडीलाई चोटसँगै खराब प्रदर्शन पनि सताएको छ । इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले आफ्नो घरेलु समर्थकमाझ एपिएफले राम्रो खेल्न नसकेको बताएका छन् । यो टोलीले लगातार क्लब च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिप खेल्ने भए पनि उनीहरूको प्रदर्शन राम्रो नदेखिएको उनको भनाइ छ । तर फाइनलमा राम्रो खेल्ने र आफूहरूले पनि सोहीअनुरूप चुनौती दिनेको उनको विश्वास छ । यहाँ आफूहरू उपाधि जित्न आएको र त्यसैअनुरूप प्रदर्शन पनि गर्ने उनी बताउँछन् । पछिल्लो खेलमा एपिएफले राम्रो डिफेन्स गरेको पनि उल्लेख गरे ।
युगान्डा, नाइजेरिया र घानाका खेलाडी समेट्दै नेपाल आएको इंस्ट बंगालको बलियो पक्ष अग्रपंक्ती हो । उसका स्ट्राइकर फाजिला इक्वापुट सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । उनले तीन खेलबाट नै ७ गोल गरिसकेकी छन् । भारतीय लिगमा पनि उनले २४ गोल गरेर आफ्नो आक्रामक शैली प्रमाणित गरेकी थिइन् । उनै फाजिला फाइनलमा एपिएफका लागि चुनौती बन्न सक्नेछिन् । इस्ट बंगालको कप्तानसमेत रहेकी फाजिलले फाइनलमा प्रतिस्पर्धात्मक खेल हुने र आफूहरूले पनि राम्रो खेल्न आशा व्यक्त गरेकी छन् । आफ्नो खेलाडी र टोलीमाथि आफू विश्वस्त रहेको उनी बताउँछिन् ।
एपिएफले लिगमा दुई जित र बराबरी गरेको थियो । इस्ट बंगालले भने तीन जित र एक मात्र बराबरीको नतिजा सामना गर्यो । एपिएफसँगको खेलबाहेक इस्ट बंगालको आक्रमण उत्कृष्ट रहँदै आएको छ । फाइनलमा पनि सोहीअनुरूप प्रदर्शन गर्ने भारतीय टोलीको विश्वास छ । एपिएफ पनि घरेलु समर्थकका माझ उत्कृष्ट खेल्दै महिला फुटबलमा लामो समयदेखिएको उपाधि खडेरी तोड्न लक्ष्यमा हुनेछ ।
प्रतियोगितामा यी दुई टोलीबाहेक बंगलादेशको नासरिन स्पोर्टस एकेडेमी, पाकिस्तानको कराँची सिटी फुटबल क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी पनि सहभागी थिए । दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले यस क्षेत्रको फुटबल विकास गर्ने उद्देश्यअनुरूप क्लव च्याम्पियनसिपको अवधारणा शुरु गरेको हो ।
