नेपालमा दैनिक एक जनाको एचआइभीका कारण मृत्यु

Yangle News
Yangle News
२०८२ मंसिर १४ गते
नेपालमा दैनिक एक जनाको एचआइभीका कारण मृत्यु

नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार ३ सय ३७ जना रहेका छन् ।

आज विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले यसबारे जानकारी गराएका हुन् । उनकाअनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् ।

त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरूमा एचआइभी संक्रमण छ । उनले १५ वर्ष भन्दा माथिका एचआइभी संक्रमित पुरुषहरूको संख्या १९ हजार २ सय ७९ रहेको छ । एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरू रहेका छन् ।

गत एक वर्षमा आमालाई एचआइभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकाहरू संक्रमित फेला परेका छन् । सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको डा. शर्माले बताए । सरदर दिनमा १.७ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको छ ।

डा. शर्माकाअनुसार ८८ प्रतिशत संक्रमितहरू औषधिको सेवन गरिरहेका छन् । संक्रमितहरूमध्ये ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा कति छ भनेर परीक्षण गरिरहेको बताए । आगामी एक वर्षभित्र एचआइभी संक्रमण विरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

निर्देशक डा. शर्माका अनुसार नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ ।