राष्ट्रिय आर्थिक बहस : सरकार-निजी क्षेत्र सहकार्यको प्रतिबद्धता

Yangle News
Yangle News
२०८२ कार्तिक २२ गते
राष्ट्रिय आर्थिक बहस : सरकार-निजी क्षेत्र सहकार्यको प्रतिबद्धता

प्रधानमन्त्री सुशीला कार्कीले देशको आर्थिक स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । उनले वर्तमान सरकार निजी क्षेत्रको मनोबल उच्च राख्न र औद्योगिक वातावरण निर्माणमा प्रतिवद्ध रहेको समेत बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघले शनिवार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ कार्यक्रममा प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते देशभर देखिएको ‘जेनजी आन्दोलन’ले पारदर्शिता, जवाफदेहिता र प्रणाली सुधारको मागलाई बलियोसँग उठाएको बताउँदै त्यस आन्दोलनको मर्म आत्मसात् गर्दै शासन सुधार र आर्थिक सुशासनका लागि सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने सुनिश्चितता आवश्यक भएकाले सर्वसाधारणलाई पनि बुझाउने गरी मन्त्रिपरिषदबाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्न सरकारसँग आग्रह गरे । प्रधानमन्त्री कार्कीले देशको समृद्धिमा निजी क्षेत्रको अहं भूमिका भएको उल्लेख गर्दै शान्ति सुरक्षाको लागि सरकार गम्भीर रहको बताइन् । उनले उद्योगीको मनोबल नउठेसम्म अर्थ व्यवस्था उठ्न नसक्ने धारणा राखिन् । उनले वर्तमान सरकारको प्रमुख दायित्व समयमा नै निष्पक्ष निर्वाचन सम्पन्न गरेर सत्ता हस्तान्तरण गर्ने भएको बताउँदै निर्वाचन सम्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आन्दोलनपछि उत्पन्न राजनीतिक-आर्थिक अस्थिरतालाई स्थायित्वमा रूपान्तरण गर्न र उद्योगी व्यवसायीको मनोबल उच्च गर्ने दिशामा वर्तमान सरकार प्रवितद्ध रहेको बताए । वर्तमान सरकारले प्रणालीगत सुधारको काम गरिरहेको उल्लेख गर्दै उनले मुलुकलाई समृद्धिको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । लगानीमैत्री वातावरण बनाउन कानुनी तथा प्रशासनिक सुधारका लागि सरकार अग्रसर रहेको उनले बताए ।

गृहमन्त्री ओम प्रकाश अर्यालले सरकारले दण्डहीनता अन्त्य गर्दै कानुनी शासन बलियो बनाउने कार्यलाई प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गरे । उनले वर्तमान सरकार कानूनी राज्य स्थापना तथा शुसासनको प्रत्याभूति दिन प्रतिबद्ध रहेको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकार नीतिगत सहजीकरणका लागि तयार रहेको बताए । उनले उद्योगहरूलाई सहजीकरण गर्न आवश्यक कानुनी अवरोधहरू हटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको धारणा राखे ।

Yangle News

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी-व्यवसायीलाई आग्रह गरे । उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रुपमा लिएर उच्च मनोबलका साथ काम गर्ने निजी क्षेत्रलाई आग्रह गरे ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले युवाकेन्द्रित आर्थिक रणनीति अपनाउन आवश्यक रहेको बताउँदै रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्न जरुरी रहेको बताए । उनले विकासलाई मूल मन्त्र ठानेर युवाकेन्द्रित आर्थिक रणनीति अपनाउनु पर्नेमा जोड दिए ।

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताउँदै शान्ति सुरक्षाको विषयलाई संवेदनशील रुपमा लिनुपर्ने बताए । नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले आन्दोलन पछिको अवस्थाले उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको बताउँदै आर्थिक समृद्धिको लागि शुरक्षा र स्थायित्व आवश्यक भएको बताए ।