त्रिदेशीय फुटबल : नेपाल पहिलो खेलमै स्तब्ध

Yangle News
Yangle News
२०८२ कार्तिक ७ गते
त्रिदेशीय फुटबल : नेपाल पहिलो खेलमै स्तब्ध

भारतको सिलोङमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ । दुवै खेलमा लगातार विजयी इरान प्रतियोगिताको च्याम्पियन बनेको छ ।

आज सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा नेपालविरुद्ध इरान ३-० ले विजयी भयो । यसअघि भारतलाई २-० ले पराजित गरेको इरान च्याम्पियनसमेत बनेको छ ।

गोलरहित सकिएको पहिलो हाफमा इरानले नेपालविरुद्ध दुईपटक गोलको खतरा बुनेको थियो । यी दुवै अवसरमा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा बाधक बनिन् । खेलको ३३औं मिनेटमा फतेमाह शबान घोरुदले राइट साइडबाट आएको क्रसलाई हेडरमार्फत बललाई गोलपोस्टको दिशा दिन सकिनन् ।

नेपालले ३१औं मिनेटमा सुनौलो अवसर गुमाएको थियो । लेफ्ट साइडबाट सवीता रानामगरको क्रसलाई विपक्षी रक्षकले नियन्त्रण गर्न नसक्दा रेखा पौडेलले गोल गर्ने राम्रो मौका पाएकी थिइन् । तर, रेखाको राइट फुटेड प्रहार बाहिरिन पुग्यो । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सावित्रा भण्डारीको लेफ्ट फुटेड शक्तिशाली प्रहारले पनि गोलपोस्टको दिशा लिएन ।

दोस्रो हाफको चौथो मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी फरवार्ड सरा डिडारले इरानलाई ‘ब्रेक थ्रु’ दिलाइन् । गोलकिपर रहा याजदानीको ‘लामो दूरी’को पासलाई सराले प्रशंसनीय तरिकाले सदुपयोग गरिन् । उनले लोअर प्रहारबाट अञ्जिलालाई ‘बिट’ गर्नुअघि सेन्टरब्याक विमला विकविरुद्ध ‘वान भर्सेस वान’ ब्याटल जितेकी थिइन् ।

पहिलो गोल गरेको तीन मिनेटपछि इरानले अग्रतालाई दोब्बर बनायो । यसपाली पनि सरा गोलको आधार बनिन् । पेनाल्टी बक्स नजिकै उनी नेपालका लेफ्ट ब्याक हिराकुमारी भुजेलबाट ‘फउल’ भइन् । राइट साइडमा प्राप्त फ्रिकिकलाई फरवार्ड तथा कप्तान जहरा घानबारीले सोझै गोलमा परिणत गरिन् । घानबारीको प्रहारलाई अञ्जिलाले बचाउने प्रयास गरेपनि बलले पहिलो बारको जाली चुमेको थियो ।

Yangle News

खेलको ५७औं मिनेटमा रक्षक मेलिका मोटेभालिताहेरको पासमा मिडफिल्डर शबनम बेहेसितले सनसनीपूर्ण गोल गरे । करिब २५ यार्ड परबाट बेहेसितको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको टप कर्नर जाली चुम्यो । ६ मिनेटपछि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी मिडफिल्डर फत्तेमेह पसन्दीदेको हेडर पहिलो बारमा लागेर फर्कियो ।

खेलको ७८औं मिनेटमा मिडफिल्डर प्रीति राईको क्रसमा फरवार्ड रश्मीकुमारी घिसिङको हेडर इरानकी गोलकिपर रहा याजदानीले बचाइन् । पाँच मिनेटपछि बक्स बाहिरबाट प्रीतिको प्रहारलाई पनि याजदानीले नियन्त्रणमा लिइन् ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार घरेलु टोली भारतसँग खेल्ने तालिका छ ।