काभा कप भलिबल: नेपालको लगातार खराब नतिजा

Yangle News
Yangle News
२०८२ कार्तिक ६ गते
काभा कप भलिबल: नेपालको लगातार खराब नतिजा

सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल लगातार खराब नतिजाको शिकार भइरहेको छ । प्रतियोगितामा नेपालले आज दोस्रो हार ब्यहोरेको छ ।

ढाकाको मिरपुरस्थित सहिद सुह्रवर्दी इन्डोर स्टेडियममा आज भएको रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भयो । सुरुवाती दुई सेट गुमाएपछि खेलमा पुनरागमन गरे पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्न सकेन । सुरुआती दुई सेट २३-२५, २०-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५-२३, २५-१६ ले आफ्नो पक्षमा पारेको थियो । पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १४-१६ ले पछि पर्‍यो ।

लगातार दोस्रो जितसँगै बंगलादेशले दुई खेलमा पाँच अंक जोडेको छ । नेपालको समान खेलबाट एक अंक छ । पहिलो खेलमा नेपाल तुर्किमिनिस्तानसँग ३-० को सोझो पराजित भएको थियो । अब नेपालले शुक्रबार माल्दिभ्सको सामना गर्नेछ ।

आजै भएको खेलमा तुर्कमेनिस्तानले श्रीलंकालाई तथा अफगानिस्तानले माल्दिभ्सलाई पराजित गरेको छ । तुर्कमेनिस्तान लगातार दुई खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ ।

Yangle News