कात्तिकका लागि पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

Yangle News
Yangle News
२०८२ अशोज ३१ गते
कात्तिकका लागि पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित सूचनाअनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ ।

भदौ महिनामा ५.४६ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, कात्तिकमा ५.२० प्रतिशतविन्दुमा झरेको छ । यस्तो निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतविन्दु घटेको हो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो । ६ वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा असोज महिनाकै दरलाई निरन्तरता दिएका छन् । त्यस्तै, बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.२२ प्रतिशतविन्दुले घटाएका छन् ।

कात्तिक महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन् । यी दुई बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर १ प्रतिशतविन्दुले घटाएका हुन् । नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने यी दुबै निक्षेपमा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।