लिची बगान घोटाला : २ पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Yangle News
Yangle News
२०८२ अशोज २२ गते
लिची बगान घोटाला : २ पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कास्कीस्थित पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदावी गरिएको छ ।

घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र विचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि त्यसको अनुसन्धान गरी अख्तियारले मुद्दा चलाएको हो । सोही प्रकरणमा जोडिएका अर्का पूर्वमन्त्री एवं एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।

कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’को १३४ रोपनी जग्गा हडप्ने योजनाका साथ तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र विचौलियाको अडियो सार्वजनिक भएको थियो । त्यसपछि अख्तियारले पूर्वमन्त्रीसहित विचौलियाको बयान लिएको थियो । घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।